एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ‘पावर सेयरिङ’ मै केन्द्रित भएको छ । साेही विषयमा केन्द्रित रही तीन विकल्प अघि सारेर छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।
विकल्प–१
ओलीले आगामी सरकारको नेतृत्व गर्नेगरी ५ वर्ष प्रधानमन्त्री हुने र प्रचण्ड संयुक्त पार्टीको अध्यक्षको हुने ।
विकल्प–२
ओली–प्रचण्ड दुवै पार्टीको संयोजक वा सहसंयोजक हुने र प्रधानमन्त्री ओली हुँदा पार्टीको नेतृत्व प्रचण्डले गर्ने ।
विकल्प–३
चक्रिय प्रणालीअनुसार ओली–प्रचण्डले पार्टी र सरकार चलाउने ।
– नेतृत्वबारे उक्त विकल्पकै वरिपरी रहेर छलफल चलेको भएता पनि नेताहरुले समस्याको निकास निकाल्न सकेनन् । ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि पार्टी–सरकारको नेतृत्व, सैद्धान्तिक एवं वैचारिकलगायतका विषयमा सघन छलफल गर्ने गरी समझदारी जुटाउने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
त्यस्तै, बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि थप गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका रामबहादुर थापा वादल, वर्षामान पुन अनन्त र मातृका यादव रहेका छन् ।
एमाले–माओवादीबीच हुने भनिएको पार्टी एकताको विषयमा कार्यकर्ता तथा नागरिकस्तरमा भ्रम र अन्योलता सृजना भएको र त्यसलाई हटाउन संयुक्त कार्यदलले जुट्ने विषयमा समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।नयाँ पत्रिका










