नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको २० दिनभित्रै एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि आज बुधबार थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
एकतापछि नेताहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा ओलीले भने,‘हामी अहिले जनताको व्यवस्थापन गर्नतिर लागेका छौं, नेताको व्यवस्थापनको चिन्ता नगर्नुहोस्, यति बुझ्नुहोस् पार्टी एकता हुन्छ, २० दिनभित्रै एकता हुन्छ ।’ केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’
त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नयाँ सरकार गठन गर्न ढिलो गरेको आरोप पनि लगाए । उनले भने,‘अहिलेसम्म यो सरकारले प्रदेश प्रमुख तोक्न सकेन, अस्थायी राजधानी कायम गर्न सकेन, यो सरकारले आलटाल गरिरहेको छ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोग दबाबमा परेको पनि आरोप लगाए ।उनले भने,‘आयोग प्रलोभनमा परेको छ, ब्याल्यकमेलिङको शिकार भएको छ, अहिलेसम्म नतिजा सार्वजनिक गरेन ।’
उनले आफू पूर्ण स्वस्थ रहेको पनि सुनाए । ओलीले थपे,‘स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’ ओलीलाई विदाई गर्न एमाले नेताहरु वामदेव गौतम, ईश्वर पोरखेरल र सुवास नेम्बाङ लगायतका नेताहरु एयरपोर्टमा पुगेका थिए । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।
ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत गएका छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक गएका हुन्। स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










