सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । डा गोविन्द केसीविरुद्धको अबहेलना मुद्दाको सुनुवाईपछि भएको आदेशमा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन भनिएको हो ।

न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार पराजुलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका दुवै नागरिकताको प्रतिलिपि मगाउन तथा न्यायपरिषद्बाट शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वोच्चले अनसनमा रहेका डा केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

त्यसअघि बुधवार इजलासमा बहस र मंगलवार डा केसीको बयान भएको थियो । डा केसीले अनसनका क्रममा प्रधानन्यायाधीश पराजुली विरुद्ध अभिव्यक्ती दिएर अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले सोमवार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।