काठमाडौं । सरकारले प्रदेश कार्यलयमा सहमति गरेर प्रदेश प्रमुख तोक्ने तयारी गरिरहेको छ । उच्च अदालत रहेका स्थानमा प्रदेशको कार्यालय खोल्ने विकल्पमा प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी केन्द्र र मधेसी दलका नेताहरूसँग परामर्श गरिसकेका छन् । यस्मा दलहरु सहमत भए प्रधानमन्त्रीले भोली (बिहिवार) नै प्रदेशप्रमुख तोक्ने तयारी गरेका छन् ।
यसैबीच सरकारले पूर्वसचिवहरूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न सक्ने मापदण्ड परिवर्तन गरेको छ । आन्तरिक गृहकार्य भइरहेका वेला पूर्वसचिवहरूले आफूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न दबाब बढाएपछि सरकारले पूर्वसचिवलाई हटाएको हो । प्रधानमन्त्री देउवाकै निर्देशनमा अवकाश पाएका सचिवहरूलाई प्रदेश प्रमुख बनाउन सकिने मापदण्ड हटाइएको हो ।
यी हुन्, प्रदेश प्रमुखको चर्चामा रहेकाहरू प्रदेश प्रमुखको रुपमा विमल कोइराला, तीर्थमान शाक्य, भोजराज घिमिरे, दामोदर गौतम, पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रशासक तथा पूर्वमन्त्रीद्वय विद्याधर मल्लिक, शंकर कोइराला चर्चामा छन् ।
त्यसैगरी पूर्वउपकुलपति केदारभक्त माथेमा, कमलकृष्ण जोशीको पनि संभावना देखिएको छ । त्यस्तै महिलातर्फबाट डा किरण रेग्मी, पूर्वसचिव अनुराधा कोइराला, र उषा नेपालको पनि चर्चा छ । पुष्कर बज्राचार्य अर्थशास्त्र प्रोफेसर त्रिवि, जगदीश पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, शिवचन्द्र श्रेष्ठ पूर्वमहालेखा नियन्त्रक पनि प्रदेश प्रमुखको लागि उचित पात्र रहेको चर्चा भैरहेको छ ।
त्यसैगरी शान्ताबहादुर श्रेष्ठ, विश्वप्रकाश पण्डित, धरणीधर खतिवडालगायतले पनि प्रदेश प्रमुखमा नियुक्ती पाउन लभिङ गरिरहेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा रामप्रकाश यादव, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा रामअवतार यादव, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो र पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल पनि प्रदेश प्रमुखमा नियुक्ति पाउन सक्ने चर्चा छ ।










