टहरीको व्यस्त क्षेत्रमा दुई बिघा १५ कठ्ठा सार्वजनिक जग्गा भेटिएको छ। इटहरी उपमहानगरपालिका–१४ तथा साबिकको खनार ४ ‘क’ मा उक्त जग्गा भेटिएको हो। इटहरी–विराटनगर सडकखण्डको सुनसरी भाँडा उद्योगपछाडि तथा भारवी साइन्स कलेजछेउमा जग्गा भेटिएको हो ।
कित्ता नम्बर ६५ मा रहेको उक्त जग्गा आसपासमा घडेरी २ लाख प्रतिधुरले कारोबार हुने गरेको सोही जग्गाछेउमा आलमुनियम भाँडा उद्योग खोलेका उद्योगी विनोद अग्रवालले बताए ।
‘मैले पहिल्यैबाट त्यो जग्गा आफ्नो भनेर दावी गर्नेहरुसँग किन्न प्रस्ताव गरेको थिएँ, तर मानेनन्’ इटहरी क्षेत्रका अगुवा उद्यमी अग्रवालले भने, ‘कुरा बुझ्दै जाँदा त जग्गाको पुर्जा नभएर पो रहेछ।’
नापी कार्यालयको तथ्यांकमा पनि उक्त जग्गा सार्वजनिक नै भएको देखिएको छ। साबिक खनार गाविसको वडा नम्बर ४ ‘क’ मा रहेको उक्त जग्गा कुलो क्षेत्रअन्तर्गतको सार्वजनिक जग्गा भएको नापी कार्यालय सुनसरीले बताएको छ।
नापी कार्यालय सुनसरीको फिल्ड बुक शाखाका कर्मचारी रामेश्वर मेहताले कुलो क्षेत्रको उक्त दुई बिघा १५ कठ्ठा जमिन सार्वजनिक भएको जानकारी दिए। उनले भने, ‘साबिक खनार–४ ‘क’ को ६५ कित्ता नम्बरको जग्गा सार्वजनिक नै हो।’
सुगम स्थान : २२ करोडको जग्गा उपमहानगरपालिकाका कर्मचारी गायत्री लम्साल लगायतको समूहले इटहरीमा १० हजार बिघा हाराहारी सार्वजनिक जग्गा रहेको पत्ता लगाएको थियो।
उक्त परिमाणको जग्गामा बाटो, घाट, खोला, पैनीलगायत जग्गा पनि पर्ने भएकाले कुनै सार्वजनिक संरचना, पार्क वा कुनै सार्वजनिक प्रयोजनका काम गर्न मिल्ने कमै जग्गामात्रै इटहरीमा उपलब्ध भएको बताइएको थियो।
तर, लम्साल लगायतको समूहले केही वर्ष अगाडिदेखि गरेको सुक्ष्म अध्ययनबाट ५५ कठ्ठा सार्वजनिक जग्गा भएको पत्ता लाग्यो। त्यो जग्गासम्म इटहरीबाट पैदल १० मिनेट र गाडीमा तीन मिनेट हाराहारीमा पुग्न सकिन्छ।
इटहरी मूल बजार नजिकैको सो जग्गा उपलब्ध बजार क्षेत्रको सबैभन्दा ठूलो परिमाणको ‘सुगम’ सार्वजनिक जग्गा भएको इटहरी उपमहानगरका कर्मचारी लम्सालले बताए।
‘पुरानो इटहरी र उपमहानगरपालिका बनेपछिको इटहरीको पनि सुगम क्षेत्रमा यो जग्गा रहेको छ’ उनले भने, ‘यो जग्गाको संरक्षण अत्यावस्यक छ।’
स्थानीयवासीका अनुसार उक्त जग्गा क्षेत्रमा अहिले २ लाख रुपैयाँ प्रतिधुरका दरले जग्गा किनबेच भइरहेको छ। जसअनुसार ५५ कठ्ठाको उक्त जग्गाको हालको बजार मूल्य २२ करोड हाराहारी हुन आउँछ।
कब्जा गर्न नक्कली पैनी र घर स्थानीयवासीलाई लामो समयसम्म यो जग्गा सार्वजनिक हो भन्ने नै थाहा थिएन। जब यो सार्वजनिक जग्गा हो भन्ने पत्ता लाग्यो, त्यसपछि जग्गा कब्जा गर्न भू–माफियाहरू सलबलाउन थालिहाले।
स्थानीयवासीहरुका अनुसार चुपचाप भोगचलन भएको जग्गा सार्वजनिक हो भन्ने गाइँगुइँ हुन थालेपछि केही ‘माफिया’ हरूले पैनी समेत सारे। स्थानीय कमल चौधरीले भने, ‘दक्षिणतिरको पैनी उत्तर सारेर सार्वजनिक जग्गा ‘गायब’ बनाउने चलखेल एक वर्षदेखि नै सुरु हुन थाल्यो।’
उक्त सार्वजनिक जग्गा हडप्ने सोचले नै पछिल्लो एक वर्षमा जग्गाको बीचमा घर बनाएर परिवार बसालिएको चौधरी बताउँछन्। नरेश सरदारको उक्त घर सार्वजनिक जग्गाको बीच भागमा रहेको छ।
सरदारको घर पुग्न बाटोपनि छैन। उक्त घरसँगै सार्वजनिक जग्गाको मुखसम्म भने बाटो बनाइएको छ। सार्वजनिक जग्गालाई चारैतिर घेरेर अन्ततः आफ्नो कब्जामा लिने उपायले सो काम गरिएको सोही क्षेत्रका स्थानीयवासीहरु दावी गर्छन्। नेपाल खबर बाट










