नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना पार्टीका मन्त्रीहरुलाई सरकारबाट फिर्ता गरिएको पत्र पठाउने भएका छन् ।

माओवादी मन्त्रीहरुका तर्फबाट तत्कालिन स्वास्थ्यमन्त्री एवं हालका बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रचण्डको पत्र देउवालाई बुझाउनेछन् । माओवादी मन्त्रीले बिहीबारै प्रधानमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार सार्वजनिक बिदा परेका कारण आज राजीनामा बुझाउन लागिएको मन्त्री पोखरेलले बताए । ‘पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाइएको सम्बन्धी अध्यक्ष कमरेडको पत्र हामी प्रधानमन्त्रीलाई बुझाउँदैछौं’, पोखरेलले काठमाण्डुटुडेसँग भने ।

उनले राजीनामा बुझाउने समय निश्चित नभए पनि प्रचण्डको सचिवालयबाट पत्र प्राप्त हुनासाथ आफू बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्ने बताए । वर्तमान सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री छन् ।

एमालेसँग तत्कालका लागि चुनावी तालमेल र पछि पार्टी एकता गर्ने गरी माओवादीले बाम गठबन्धन निर्माण गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिना विभागीय बनाइदिएका थिए । तर, निर्वाचन गराउने राष्ट्रिय कार्यभार रहेको भन्दै माओवादीले सरकार छाडेको थिएन । काठमाडौँ टुडे बाट