काठमाडौँ, २८ पुस । प्रदेश प्रमुखको नियुक्तिका लागि बसेको भनिएको मन्त्रिपरिषदको शुक्रबारको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे कुनै निर्णय लिन सकेन ।
सरकारका प्रवक्ता मोहन बस्नेतले प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानीबारे छलफल भने निष्कर्षमा नपुगिएको जानकारी दिए । सरकारले दुई सातादेखि नै प्रदेश प्रमुखको नियुक्तिको गृहकार्य गरिरहेको बताए शुक्रबार पनि टुंगोमा पुग्न सकेन ।
प्रदेश प्रमुखको नियुक्त हुन नसक्दा निर्वाचन आयोगले अहिलेसम्म पनि आधिकारिक परिणाम बुझाउन पाएको छैन।
बैठकले धनकुटाको छिन्ताङमा पञ्चायतकालमा मारिएका १६ जनालाई भने शहीद घोषणा गर्ने निर्णय गरेको छ । कम्युनिष्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरेको थियो। हत्या भएकामध्ये धेरै तत्कालीन नेकपा मालेका कार्यकर्ता थिए।










