दमक/ झापाको दमक स्थित रतुवा पुलमा सवारी दूर्घटना भएको छ । मे १ ख १७१० र को १ ख ३६५९ बस आपसमा ठोकिँदा १२ जना घाइते भएका छन् ।
दुर्घटनाका ११ जना घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये मे १ ख १७१० का चालक लक्ष्मण कुमालको अवस्था गम्भिर रहेकोले उनलाई विराटनगर रेफर गरिएको लाइफ लाइनको इमरजेन्सी कक्षले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । घाइत हुनेमा झापा कनकाइ ५ की कृपा भुजेल, विराटनगर २ की भावना कामत, खाँदवारी १ का बुधसेन लिम्वू, गणेश देवी लिम्वू, चन्द्रमायाँ लिम्वू रहेका छन भने रामधुनी ५ का जुलाइ चौधरी, इलाम चुलाचुली १ का राम ब राई लगायत रहेका इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार बिपरीत दिशाबाट आएका बस आपसमा ठोकिएका थिए । बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दूर्घटना भएको चालकले बताएका छन् । बसलाई पछाडिबाट मे १ त ४७५४ नम्बरको ट्याक्टरले पनि ठक्कर दिएको बताइएको छ ।
दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध बनेपनि बाटो खुलिसकेको छ । क्रेनको साहयताले किच्चिएको बसलाइ साइट लगाएर राजमार्ग खुलाइएको घटनास्थलमा रहेका गिरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार दमकका अस्पतालहरुमा एक दर्जनभन्दा बढि घाइतेहरुको उपचार भइरहेको र बसका चालक भने चेप्टिएर गम्भिर अवस्थामा रहेको पाईएको छ ।










