वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन्।
एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ।
यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए। प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो। कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ।
कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्बाङका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ।
‘स्थानीय तह र प्रदेशसभा चुनावमा पाएको मतलाई आधार मानेर हेरिनेछ,’ बैठकपछि नेता नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘कुन पदका लागि को व्यक्ति योग्य हो भन्ने पनि ख्याल गरिनेछ।’ प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ ।
६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् । ६ वटा प्रदेशमा मात्र वामपन्थी गठबन्धनको बहुमत छ । प्रदेश २ मा भने वाम गठबन्धन सरकार बनाउने हैसियतमा छैन ।
त्यसैले सरकार बनाउन सक्ने अवस्थामा रहेका ६ वटा प्रदेशमा दुई दलबीच भागबन्डा हुनेछ । वाम गठबन्धन कार्यदलले माघ १० भित्र राष्ट्रिय सभा उम्मेदवारी दर्ता गर्नुअघि प्रतिवेदन तयार गरी शीर्ष नेतृत्वलाई बुझाउनेछ। उम्मेदवारको अन्तिम टुंगो भने शीर्ष नेताको बैठकले लगाउने छ।
कान्तिपुरबाट










