काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले ७ महिनाअघि लिएको परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेको हो। कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक भएको यो पहिलो पटक हो।

परीक्षा नियन्त्रक डम्बर बतासका परीक्षाफल http://neb.ntc.net.np वेबसाइटमा राखिए पनि प्राविधिक समस्या आएको र आइतबारदेखि सहज रुपमा हेर्न सकिने उनले बताए। ‘नतिजा हेर्न उक्त वेबसाइटमा गएर विद्यार्थीले आफ्नो सिम्बोल नम्बर हाल्नुपर्छ,’ उनले भने, ‘त्यसपछि विद्यार्थीको नतिजा विषयगत ग्रेडिङमा आउने छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बोर्डले सबै समूहको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। उनले एसइइको जस्तै 'ए प्लस' देखि 'ई' ग्रेडसम्म गरी नौ समूहमा नै नतिजा सार्वजनिक गरिएको जानकारी दिए।

परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी थिए। तीमध्ये ७४ जनाको परीक्षा रद्द गरिएको बतासले बताए।

‘नतिजामा विषयगत ग्रेडिङमा देखिनेछ’, उनले भने, ‘एसइइमा जस्तो विषयगत जिपी र एकमुष्ठ जिपिए निकालिएको छैन।’

उनले विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट कुन विषयमा कुन ग्रेड आयो भन्ने मात्रै जानकारी पाउने बताए।

परीक्षा नियन्त्रक बतासका अनुसार, ९० भन्दा माथि अंक ल्याउनेको ए प्लस, ८० देखि ८९ सम्म ए, ७० देखि ७९ सम्म बि प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९ ल्याउनेको डी र ० देखि १९ ल्याउनेको ग्रेड इ आउनेछ।

यो परीक्षामा विद्यार्थीको डी प्सल वा त्योभन्दा मुनिको ग्रेड आएको छ भने आगामी माघ २७ गते पुन: परीक्षा दिन पाउने व्यवस्था रहेको बतासले जानकारी दिए।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : http://neb.ntc.net.np