एमाले–माओवादी केन्द्रबीच एकता हुने कुराबाट दुबै पार्टीका धेरै नेताकार्यकर्ता रोमाञ्चित भएका देखिन्छन्। तर, उनीहरु भन्दा धेरै रोमाञ्चित भएका छन्, एमाले नेता बाचस्पति देवकोटा। किनभने, कुनैबेला देवकोटा तत्कालिन नेकपा (मशाल) को शीर्ष नेतृत्वको दोस्रो बरियतामा थिए। र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देवकोटा भन्दा कनिष्ट थिए।

लामो समय राजनीति गरेका देवकोटा २०६०–०६१ ताका शेरबहादुर देउवाको मन्त्रीपरिषदका सदस्य थिए। यो त्यही सरकार थियो, जसलाई राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा अपदस्थ गरेका थिए। रोचक संयोग, राजनीति नै नगरेका उनका भाई बरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाचाहिँ उनी भन्दा ठीक अघि राजाद्वारा नियुक्त प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्री परिषदमा् स्वास्थ्यमन्त्री थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाचस्पति देवकोटासँग तत्कालीन मशालकालिन माओवादी राजनीति, एमाले–माओवादी केन्द्रबीचको एकता, डा देवकोटासँगको सम्बन्ध र डा देवकोटाको पछिल्लो स्वास्थ्यस्थितिबारे नेपालखबरका सीताराम बरालले गरेको वार्ताः

राजनीतिको दुखसुख कम्युनिस्ट आन्दोलनमा ठूलो लगानी गरेको मान्छे, आजकल राजनीतिक रुपमा त्यति धेरै सक्रिय देखिनुहुन्न। किन हो? नयाँ युवाहरु ‘अबको राजनीतिमा सबै कुरा हामी नै हौं’ भन्छन्। नेताहरुलाई पनि यस्ता नयाँ युवालाई उफार्न सजिलो हुन्छ। गल्ती गरेपनि पछि पछुताउने, तर उफ्रिने बेला उफ्रिने र उफार्ने बेला उफार्ने प्रबृति नेपालको राजनीतिमा हावी छ।

सामाजिक रुपान्तरण, सामाजिक परिवर्तनको विषय अत्यन्त गम्भीर हो। यसले अत्यन्त धेरै समय लिन्छ। यहाँ बिनोद चौधरीजस्ता मान्छे सांसद हुन्छन्। र, पछि ‘मैले पैसा तिरेको थिएँ’ भन्न आउँछन्। बाबुराम पोख्रेल (स्व) पनि सांसद भए, मधेसी जनाधिकार फोरमले सांसद बनाउँदा उनले पैसै दिएका थिए भन्छन्। कैयन मान्छे पैसा दिएर सांसद भइरहेका छन्। यस्तोमा हामी जस्ता व्यक्तिको धेरै भूमिका हुँदो रहेनछ। निस्क्रिय नै त छैन। तर, सक्रियता देखिन पनि गार्‍हो हुँदो रहेछ।

राजनीतिमा निकै पछि परेंजस्तो लाग्दैन? कसैले पछि पारेर कोही पछि पर्ने होइन। एकजना ठूला कविले लेखेका छन्, ‘समयको कुनै सीमा छैन, यो पृथ्वीपनि हामीले सोचेजस्तो साँघुरो छैन।’ मैले के पाएँ, कसले दियो, कसले दिएन, कसले गाली गर्छ, कसले प्रसंसा गर्छ भनेर म सोच्दिन। मलाई कम्युनिस्ट आन्दोलनको प्रभाव राम्रोसँग विस्तार भएर जाओस् भन्ने लाग्छ।

कम्युनिस्ट आन्दोलनमा घुसेका खराब प्रबृत्ति अन्त भएर जाउन्, कोही दुरासय र दुर्नियत राखेर कम्युनिस्ट आन्दोलनमा लागेको छ भने त्यस्ता दुर्नियत सफल नहुन्, मेरो चाहना यत्तिमात्र हो। मैले कसैप्रति दुर्भाव र दुरासय राखेको छैन। कुनै दुर्भावना नराखी पार्टीले कुनै भूमिका दियो र मैले पुरा गर्न सकें भने आफूलाई सफल ठान्छु।

एमाले–माओवादी एकता एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कसरी हेर्नुभएको छ? एकता हुनुपर्छ भन्ने ‘सेन्टिमेन्टल’ कुराहरु यसभन्दा अगाडिपनि बेलाबेला भइरहन्थे। तर चुनावको बेला दुबैले एकता महसुस गरे। यो निर्णय राम्रो र समसामयिक हो। तर जति सुविचारित ढंगले गृहकार्य गर्नुपथ्र्यो, त्यो हुन पाएन। इतिहास, पृष्ठभूमि जोडेर एकता प्रकृयालाई अगाडि ल्याउनु पथ्र्यो। तर, त्यस्तो विषद सैद्धान्तिक, राजनीतिक, सांगठनिक गृहकार्य हुन सकेन।

हो, चुनावको बेला एकाएक आएको कुरालाई जनता, कार्यकर्ताले अत्यन्त हार्दिकतापूर्वक सकारे। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति नेतृत्वका सामु छ। एकता प्रकृयालाई कसरी सकारात्मक र सुसंगठित निश्कर्षमा पु¥याउने भन्ने चुनौति नेताहरुलाई छ। चित्त सबैको बुझाउनुपर्ने बाध्यता छ। मैले पत्रिकाहरुमा देखिरहेको छु, सबैभन्दा मुख्य रुपमा ए, बी ग्रेडकै नेताहरुलाई व्यवस्थापन गर्ने प्रश्न आइरहेको छ।

दुवै पार्टीका नेतालाई राम्रोसँग चिन्नुहुन्छ, यस्तोमा आफूले ‘कोअर्डिनेटर’ को भूमिका खेल्न सक्छु जस्तो लाग्दैन? हामी त सल्लाहकार मात्र हौं। तर, हामीसँग कसले सल्लाह माग्ने? सल्लाह माग्न आएको खण्डमा दिने हो। कोही माग्नै नआइ हामी आफैं गएर दिएको उधारो सल्लाहपनि कसले लिन्छ? यस सम्बन्धमा मेरो आफ्नै तीतो अनुभव पनि छ। जस्तो, २०४७–०४८ ताका हामीले माओवाद मान्ने पार्टीहरुबीच एकता गर्ने भनेर पार्टी एकता वार्ता संयोजन समिति बनायौं। त्यो बेला म नेकपा (मशाल) मा थिएँ। नेकपा (मशाल), मसाल, सर्वाहारावादी श्रमिक संगठन (रुपलाल विश्वकर्मा नेतृत्वको) जस्ता पार्टीबीच एकताका लागि त्यो समिति बनाइएको थियो। समितिमा डा. बाबुराम भट्टराई, शक्ति लम्साल, चण्डेश्वर श्रेष्ठ, काइँलाबा (देबेन्द्रलाल श्रेष्ठ), म लगायत थियौं।

कम्युनिस्टका धेरै गुट–उपगुट भए, यिनीहरु छरिए। अब एक ठाउँ केन्द्रित हुनुपर्छ भन्ने सदीक्षाका साथ हामीले त्यो काम गरेका थियौं। त्यो दबाबले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा काम पनि गर्‍यो। तर एकता हुने बेलामा हामी नै छुट्यौं। नेकपा (मसाल), एकताकेन्द्र, रुपलाल विश्वकर्माको सर्वाहारावादी श्रमिक संगठन, नेकपा (चौंथो महाधिवेशन) मिलेर एकता भयो। तर एकता गर्नुपर्छ भनेर लाग्ने हामीहरु नै छुट्यौं।

त्यसैले, यही अनुभवका आधारमा पनि मैले यसपटक त्यतिधेरै वास्ता नगरेको हो। ‘यिनीहरुबीच एकता भइदिए हुन्थ्यो’ भनेर एकताको अभियानमा लाग्ने मान्छेहरुलाई मैले उत्प्रेरणा दिएँ। तर आफैं अग्रसर भएर हिँडिन। भाग खोज्ने मान्छे एकताका लागि लाग्छ, मान्छे पिच्छेको पार्टी बनाएर पनि हिँड्छ। मलाई कुनै भागपनि चाहिएको थिएन। अनि, बित्थामा किन हिँडिरहने? एकता भएपछि सबै मानिसहरु मूल प्रवाहमा समेटिहाल्छन्। यही सोचले गर्दा मैले एकताप्रति सद्भावमात्र व्यक्त गरें। आफैं सक्रिय भएर लागिन।

अहिले नेतृत्वको गाँठो त पर्‍यो नि! ओलीजी र प्रचण्डजीबीच के सम्झौता भएर एकताको सन्देश बाहिर ल्याइयो? किन सँगै चुनाव प्रचारमा गइयो? यी कुरा अझैपनि बाहिर ल्याइएको छैन। तर, जनताले चाहिँ चुनावमार्फत् दुई पार्टीबीचको एकतालाई अनुमोदन गरिसके। त्यसैले, अब एकताबाट पछि फर्कन सक्ने अवस्था पनि छैन।

उहाँहरुबीच भएका समझदारीमा अझै केही तुष बाँकी छन् भने उहाँहरु आफैं बसेर त्यसलाई मेट्नुपर्छ। हामी बढि जान्ने भएर उहाँहरु बीच पाण्डित्याइँ छाँट्न जानु उपयुक्त हुँदैन। हामीले बाहिरबाट सदीक्षा, सदासयता व्यक्त गर्ने हो। ‘यो प्रकृयालाई सैद्धान्तिक–राजनीतिक रुपमा राम्रोसँग लिएर जानुस्, एकताका लागि जेसुकै त्याग गर्नुपरे तयार हुनुस्’ भन्ने हो।

तर यस्तो बेला दुई नेताहरुका इच्छा भन्दा आ–आफ्नो पार्टीका गुट–उपगुटका ‘इन्ट्रेस्ट’ हरु हावी हुन्छन्। कम्युनिष्ट पार्टी स्वयंमा एउटा गुट हो। तर पार्टीभित्रपनि गुट–उपगुट छन्। ती उपगुटभित्रका ‘किचन मेम्बर’ हरुको ‘इन्ट्रेस्ट’ सबैभन्दा महत्वपूर्ण हुन्छ। नेताहरुले तिनीहरुलाई पनि चित्त बुझाउनुपर्ने हुन्छ। एकतामा सबैभन्दा ठूलो चुनौति यही हो, अहिले।

माओवादी शान्ति प्रक्रियामा आएको दश वर्षपछि मात्र एमाले–माओवादी केन्द्रलाई के कुराले एकताको विन्दूसम्म पुर्‍यायो? दुवै पार्टीले धेरै ठक्कर खाए। खासगरी प्रदेश–२ मा स्थानीय तहको निर्वाचन परिणामले दुई पार्टीलाई यो विन्दूमा पुर्‍यायो। जस्तो, प्रदेश–२ को निर्वाचनअघि एमालेले देशैभरि एकछत्र लहरका साथ जित्दै गएको थियो। तर प्रदेश–२ मा एमालेविरुद्ध सबैको मोर्चाबन्दी भयो। त्यसले गर्दा परिणाम एमालेले सोचेजस्तो परिणाम आउन सकेन। त्यसपछि एमालेलाई ‘हामी एक्लैले चुनाव लड्दा नसकिने रहेछ’ भन्ने महसुस भयो।

यस्तो महसुसपछि उसले मित्र खोज्न थाल्यो। सानातिना मित्र खोज्नुभन्दा जबर्जस्त मित्रसँगै मिलेर जाँदा चुनावी परिणामको ग्यारेन्टी हुन्छ भन्ने निश्कर्ष एमालेले निकाल्यो। त्यसपछि ‘चुनावी गठबन्धनपनि गरौं, पार्टी एकता पनि गरौं’ भन्ने समझदारी भयो। सुनियोजित ढंगले लामो तयारीपछि एकताको कुरा भएको होइन, चुनावी परिणामलाई मध्यनजर गर्दै एकता घोषणा भएको हो। तर, जनताले त्यसलाई अनुमोदन गरिदिए, एकताका लागि अब बल नेताको कोर्टमा गयो।

यति अघि बढेरपनि नेतृत्व सम्बन्धी कुरा नमिलेर एकता भएन भने? अबपनि एकता भएन भने नेताहरुको नैतिक धरातल सकिन्छ। जस्तो रुपमा हुन्छ, जति समयका लागि हुन्छ, जेजस्तो हुन्छ, एकता त अब हुन्छ हुन्छ। एमाले–माओवादी केन्द्रभित्र बुद्धिजीवी छन्, चिन्तक छन्, ‘थिंकट्यांक’ छन्, जसले एकतामा किचलो झिक्छ, त्योसँग उनीहरुले प्रश्न सोध्न थाल्छन्। यही डरका कारण पनि उनीहरुबीच एकता हुन्छ।

तर, चुनाव परिणाम आएको पनि एक महिना भइसक्यो। एकता प्रक्रियामा किन अपेक्षा गरेजस्तो प्रगति हुन सकेको छैन? एकताको घोषणा पहिल्यै गरियो, गृहकार्य पछि गर्नुपर्‍यो। त्यसैले ढिलाइ भयो। अझै पनि समय लाग्न सक्छ। तर जति समय लागेपनि एकता गर्नुपर्छ। विभिन्न तहमा गृहकार्य भइरहेकै छ। एकता प्रकृयाले समय लिन्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ।

अहिलेपनि सबै जिम्मा ओली र प्रचण्डलाई दिइएको छ। यसले पार्टी भनेकै व्यक्ति भनेजस्तो भएन? दुई पार्टीबीचको एकता निकै गम्भीर काम हो। यस्तो गम्भीर कामको जिम्मेवारी धेरै मान्छेलाई छर्दा बिग्रनपनि सक्छ। दोश्रो तेश्रो तहका नेतालाई जिम्मेवारी दिँदा विश्वसनीयताको सवाल खडा हुन्छ। बरु, सानो टिम बनाएर छलफल गर्ने, बृहत गृहकार्य गर्ने र त्यसले पटक–पटक केपी र प्रचण्डसँग अभिमत लिइरहने, त्यहाँको रिपोर्टिङ दुवै नेतालाई दिइरहने जुन अभ्यास नेताहरुले गरेका छन्, यो प्रकृयाले सबै मान्छेलाई समेट्न खोजेको छ। यसलाई अन्यथा लिनु हुँदैन।

तपाईं एकता केन्द्रमा हुँदा उपल्लो तहमा हुनुहुन्थ्यो। एमालेमा आएपछि तल पर्नुभयो। फेरि एकता हुँदा झन् तल पर्ने होला। अप्ठेरो लागेको छैन? आफू कहाँ पर्छु भन्ने कुरा मैले हिजोपनि सोचिन। जतिबेला हिजो एकताकेन्द्र बन्यो, खासमा त्यसको नामाकरण मैले नै गरेको थिएँ। वार्ता संयोजन समितिपनि मेरै प्रस्ताव अनुसार बनेको हो। तर जब एकता केन्द्र बन्यो, त्यसपछिपनि प्रचण्ड–किरणजीहरु हतियार बोकेर हिँड्ने कुरा गर्न थाल्नुभयो। त्यसपछि मैले एकताकेन्द्र छाडेको हुँ। जनताको चेतनाको स्तर अनुसार हामीले काम गर्ने हो। हत्त न पत्त हतियार उठाएर जनताको चेतनास्तर माथि आउँदैन भन्ने मेरो तर्क थियो।

प्रचण्ड–मोहन वैद्यसँगको सहकार्य एकता केन्द्र बन्नुअघि मशालको ‘र्‍याङ्क एण्ड फाइल’ मा तपाईं सिनियर मध्येमा पर्नुहुन्थ्यो भन्ने कुरा साँचो हो? पाँचौ महाधिवेशनले मलाई पोलिटब्युरोको दोश्रो तहको नेता बनाएको थियो। पार्टीमा मभन्दा अगाडि एकजना मोहन वैद्य (किरण) जीमात्र मात्र हुनुहुन्थ्यो। उहाँ महामन्त्री हुनुहुन्थ्यो, दोस्रो बरियतामा म थिएँ। तेश्रो बरियतामा खम्बसिंह हुनुहुन्थ्यो। प्रचण्डजी केन्द्रीय समितिमा मात्र हुनुहुन्थ्यो। तर पार्टी कामको सिलसिलामा पोखराबाट फर्किंदै गर्दा म पक्राउ परें, ०४२ तिर। मेरो गिरफ्तारीपछि मेरो ठाउँमा प्रचण्डजीलाई ल्याइयो।

जब म जेलबाट फर्कें, मैले पार्टीका केही नीति उपर असन्तुष्टि राखें। त्यो बेलापनि सशस्त्र संघर्षको तयारी गरिँदै रहेछ। मैले ‘यो हतियार उठाउने बेला होइन’ भनें। मैले जेलभित्रै सुनेको थिएँ कि, हतियार खरिदका लागि पैसा जम्मा गरिँदैछ। त्यसै प्रसंगमा सेक्टर काण्डको कुरापनि आयो। ‘निहत्था प्रहरी कुटेर सेक्टर काण्ड घटाउनुपनि केटाकेटी पारा हो’ भन्ने मेरो कुरा थियो।

तपाईंमाथि के कार्वाही भएको हो? जेलमा गोपनीयता कायम नगरेको आरोप ममाथि लगाउनुभएको थियो। सशस्त्र युद्धको कुरा सार्वजनिक गरेर पार्टीको वदनाम ग¥यो भन्ने आरोपसमेत ममाथि लगाइएको थियो। मैले ‘सेक्टर काण्ड घटाउने को हो, त्यसमाथि कारबाही हुनुपर्छ’ भन्ने माग राखें। किनभने, सेक्टर काण्डको विषयलाई लिएर पार्टीका थुप्रै कार्यकर्ताहरु कार्वाहीमा परेका थिए। एकातिर पक्राउ परेका युवक साथीहरुले थिल्थिलो हुनेगरी प्रहरीको पिटाइ खाएका थिए। अर्काेतिर ती साथीहरुलाई पार्टीले कारबाही गरेका थियो। पार्टीको योजना अनुसार प्रहरी बिटमा हान्नपनि उनीहरु जाने, अनि फेरि पार्टीले उनीहरुलाई नै कारबाही गर्ने।

‘यस्तो उटपट्याङ काम कसले गरेको हो?’ भनेर मैले सोधें। मलाई लागेको थियो, सेक्टर काण्डको जिम्मेवार प्रचण्ड होलान्। तर त्यसको कमाण्डर वैद्यजी नै हुनुहुँदोरहेछ। त्यही कारण वैद्यजी एकतह घटुवाको कारबाहीमा पर्नुभयो। उहाँ महामन्त्रीबाट एक तह तल झर्नुभयो। मलाई चाहिँ दुई तह घटुवाको कारबाही भयो। कारवाहीपछि म केन्द्रीय कमिटीमा झरें। वैद्यजीले एक तह घटुवाको कारबाही स्वीकार गर्नुभयो, तर मैले कारबाही स्वीकार गरिनँ। कारबाहीपछि मलाई पार्टीमा काम गर्न मन लागेन।

प्रचण्ड त्यसबेला महामन्त्री नभएको भए पार्टी कता जान्थ्यो? सशस्त्र युद्धको नाममा यत्रो धेरै काटमार हुँदैनथ्यो होला। वैद्यजी एक्लैले यत्रो महत्वाकांक्षी योजना बनाउनुहुन्न थियो।

प्रचण्डसँग ‘केमेष्ट्री’ कत्तिको मिल्थ्यो? प्रचण्डजी अत्यन्त उर्जावान युवक हुनुहुन्थ्यो। हामीले आरुघाट (गोरखा) मा हुँदैदेखि उहाँको लेवी पार्टी केन्द्रमा पठाइदिन्थ्यौं। आरुघाटमा हाम्रो पार्टीको कमिटी थियो, जिल्ला कमिटीमा दुईजना आरुघाटकै साथीहरु हुनुहुन्थ्यो– वासु लामिछाने र योगबहादुर लामिछाने। आरुघाट छाडेपछि पार्टीले प्रचण्डलाई नवलपरासीको सचिव बनाएर पठायो। त्यसबैला उहाँसँग नवलपरासीमा पनि मेरो भेटघाट भयो। उहाँको नाम पहिल्यैदेखि सुनेको भएपनि उहाँ र मेरो साक्षात्कार नवलपरासीको धारापानीमा भयो। नवलपरासीका धेरै ठाउँमा हामी सँगै हिँड्यौं।

आफ्नो कार्यकर्ता यति ठूलो ठाउँमा पुग्ला भन्ने लागेको थियो तपाईँलाई? मैले त्यति परसम्म सोचेको थिइनँ। त्यहाँ धेरै कुरा भएका छन्। मोहनविक्रम र निर्मल लामालाई फुटाउने, जुधाउनेमा उहाँहरुको निक्कै ठूलो योगदान छ। मोहनविक्रमलाई खसाल्नपनि धेरै तिकडम भएका छन्। प्रचण्डजीले रुपलाल विश्वकर्माबाट सापट लिएको शैली हो, ‘तिकडम ताकडम’, त्यहाँ धेरै ‘तिकडम ताकडम’ भएका छन्। पार्टीभित्र चितवनको सबभन्दा ठूलो ग्रुप थियो। त्यसले गर्दापनि उहाँहरुलाई पार्टीभित्र सजिलो भयो।

मन्त्री अनुभव तपाईं ज्ञानेन्द्रको मन्त्रीपनि बन्नुभयो होइन? हो, ‘प्रतिगमन आधा सच्चियो’ भनेर मन्त्री बनियो। ज्ञानेन्द्रले कु गर्छन् भन्ने कुरा हामीलाई थाहा थियो। मैले माधव नेपाललाई भनेको थिएँ, ‘मलाई तपाईंले भुतले खाजा खाने बेलामा मन्त्री बनाउनुभयो, मलाई सोध्दै सोध्नुभएन, यसलाई कसरी स्वीकार गर्ने?’ भनेर।

त्यो दिनको बिहान म माधवको घर गएको थिएँ। पार्टीका कुरा अन्य कुरा भए। तर क्याबिनेटमा जाने कुरा भएन। उहाँको घरबाट हामी सँगै निस्क्यौं। मेरो ‘ब्लडसुगर टेस्ट’ गर्नुपर्ने भएकाले वीर हस्पिटलमा जानुपर्ने थियो। कोटेश्वरबाट सँगै आइयो, उहाँ ‘सम्पर्क मञ्चको कार्यक्रम छ’ भनेर ल क्याम्पसमा जानुभयो। म वीर हस्पिटल गएर कोठा फर्किएँ। कोठामा आइपुग्नासाथ फोन आयो। त्यो फोन एकजना पत्रकारको थियो। ‘तपाईँ मन्त्री हुनुभयो, बधाई’ भनेर उहाँले फोन राख्नुभयो। मैले शुरुमा त पत्याएको थिइन। माधव नेपालसँग कुरा गरेपछि हो रहेछ भन्ने थाहा भयो। उहाँलाई फोन गरेर ‘तपाईंले बिहान किन यो कुरा भन्नुभएन?’ भनेर सोधें। उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गरेको थिएन, त्यसैले नभनेको हो’ भन्नुभयो।

पार्टीले भनिसकेपछि स्वीकार गर्नै पर्‍यो।

तपाईं भन्दा अघि भाई डा उपेन्द्र देवकोटा राजाबाट नियुक्त मन्त्री हुनुहुन्थ्यो। भूतले खाजा खाने बेला तपाईं मन्त्री भएर गल्ती गर्नुभयो कि राजाको मन्त्री मण्डलमा गएर डा उपेन्द्रले गल्ती गर्नुभयो? म राजनीतिक मान्छे, पार्टीले जे भन्यो त्यो मान्नुपर्‍यो मैले। पार्टीले निर्णय गर्‍यो, मैले मानें। उपेन्द्र चाहिँ नितान्त विज्ञ, प्राविधिक मान्छे। उसलाई पनि ‘मैले स्वास्थ्य मन्त्रालय लिएर केहि गर्न सक्छु’ भन्ने आँट थियो होला। पार्टीले ‘मन्त्री बनाउँछु, आइज’ भनेपछि जसरी मैले पार्टीको आज्ञा नकार्न सकिन, त्यसैगरी वीर हस्पिटलमा जागीर खाएर बसेको एउटा डाक्टरलाई राजाले ‘म मन्त्री बनाउँछु’ भनेर विश्वास दिएपछि भाईले पनि नकार्न भएन।

म राजनीतिक मान्छे, त्यसैले ‘राजाले यत्रो राजनीतिक पार्टीहरुलाई बदनाम गर्न कु गरिरहेको छ, यस्तो बेलामा भाई नगइदिएको भए हुन्थ्यो’ भनेर मैले सोच्नु स्वभाविक हो। तर भाईलाई राजाले आफैले ‘तपाईंले स्वास्थ्य क्षेत्रकै कमाण्ड सम्हाल्नुस्’ भनेपछि उसले पनि ‘म सक्दिन, गर्दिन’ भन्न सक्ने स्थिति थिएन। त्यसैले, आ–आफ्नो ठाउँबाट, आ–आफ्नो हैसियतबाट यस्ता विषयको मूल्याङ्कन र विश्लेषण गर्नुपर्छ भन्ने लाग्छ।

डा उपेन्द्रसँगको सम्बन्ध दाजु–भाइबीचको सम्बन्ध कस्तो छ? हामी सबैजना दाजुभाइबीच अत्यन्त राम्रो सम्बन्ध छ। म घरको जेठो छोरा हो। मैले मेरा भाइहरुलाई, तिनका केटाकेटी सबैलाई अभिभावकत्व प्रदान गर्दै आएको छु। उनीहरुले गरेका कमिकमजोरीलाई ‘यो कमजोरी भयो’ पनि भन्ने गरेको छु। उनीहरुले गरेका राम्रा कामलाई प्रशंसा पनि गर्छु।

सरसहयोगको कुरा गर्दा अर्काकी छोरी बिहे गरेर ल्याइसकेपछि यस्तै हो। मबाट पनि भाइहरुले धेरै आश गर्थे होलान्। मैले त्यो आशा पुरा गर्न सकिन। आफैंले पुरा गर्न नसकेपछि मैले भाइहरुबाट के आश गर्ने?

चाडपर्व र विशेष कार्यक्रमहरुमा आउनेजाने हुन्छ। त्यसबाहेक अघिपछि त्यस्तो केही हुँदैन। मेरो पारिवारिक दायित्व छुट्टै भयो, उनीहरुको छुट्टै भयो।

एउटै जिल्ला र एसएलसीसम्मका सहपाठी भएपनि डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटाको सम्बन्ध हार्दिक देखिँदैन, किन होला? उनीहरु सँगसँगै पढेका, स्वभाविक रुपमा प्रतिस्पर्धा हुन्छ। उनीहरुको सम्बन्ध पहिल्यैदेखि त्यति राम्रो होइन। तर प्रतिस्पर्धा अस्वस्थपनि होइन।

त्यही प्रतिद्वन्दिताका कारण डा उपेन्द्र यस पटक नारायणकाजी श्रेष्ठको प्रचारमा गोर्खा–२ पुग्नु भएको होला। होइन? नारायणकाजी र उनको परिवारसँग हाम्रो धेरै पहिलेदेखिको सम्बन्ध हो। उनी स्वयं आएर ‘मेरो प्रचारमा गइदिनुपर्‍यो’ भनिसकेपछि उपेन्द्रले जान्न भन्नु शोभनीय हुने थिएन।

डा उपेन्द्रको स्वास्थ्य अहिले कस्तो छ? किन नेपाल फर्किन ढिलाइ गर्नुभएको? स्वास्थ्य सुधार भइरहेको छ। मेरो भाइ डाक्टर भएपनि पारिवारिक र व्यक्तिगत जीवन हुन्छ। उसको पनि शरीरले आराम खोज्छ। जस्तो, मसँग कतिपय विरामीहरु आउँछन्। र, ‘लौन, डाक्टर सा’बले नै अप्रेसन गरिदिनुपर्‍यो, उहाँलाई भनिदिनु’ भन्छन्। यस्तो अनुरोध गरेपछि मैले पनि टार्न सक्दिन। र, उपेन्द्रलाई ‘तिमीले नै अप्रेसन गरिदिनुपर्‍यो रे, हेरिदेऊ’ भन्छु।

जो मान्छे पेसाले, आफ्नो अन्तरआत्माले नै प्रतिबद्ध भएर लागेको छ, उसले नयाँ केस आयो भने आफूलाई नै बिर्सिएर त्यो केसमा लागिपर्छ। उपेन्द्र त्यस्तै मान्छे हो। काम गर्दागर्दै उ पानी खानपनि बिर्सन्छ। खाना खान पनि बिर्सन्छ। डाक्टरको जीउ पनि त हाम्रैजस्तो हो। त्यसरी काम गरेपछि डाक्टर स्वयंको स्वास्थ्यपनि कमजोर हुन्छ। कैयौंचोटी अठार घण्टासम्म अप्रेसन गर्नुपर्छ। अप्रेसन केस ‘सिरियस स्टेज’ मा पुगेको हुन्छ। त्यसलाई छाडेर जाउँ, बिरामीको जीवन नै खतरामा पर्छ। नछोडौं, आफूलाई भोक लागेको छ। खाने र अप्रेसन गर्ने कुरा सँगसँगै पनि हुँदैन।

मैले बारम्बार ‘तिम्रो स्वास्थ्य खराब भएजस्तो देखिरहेको छु है’ भनेर सचेत गराएको पनि हुँ।

यसपटक भएको चाहिँ के हो? एकदिन हामी दाजुभाई लगायत परिवारका अन्य सदस्य र नातेदारहरू जुटेका थियौं। डा उपेन्द्रले ज्वाइँ र माहिलो भाइलाई वियर दिए। म त रक्सी वियर कहिल्यै नखाने मान्छे। उपेन्द्रले पनि त्यसदिन खाएनन्। उनले नखाएपछि मैले भनें, ‘मैलेपनि आज एकजना वियर नखाने साथी पाएँ, सार्‍है खुसी लाग्यो।’

मैले त्यसो भनेपछि उनी फिसिक्क हाँसे। अर्कोपटक उनी आफैले ‘खानै छोडेको त होइन, तर मलाई अलि सञ्चो नभएजस्तो लाग्यो’ भने। ‘के भयो’ भनेर सोधें। उनले ‘म भोलि लण्डन जाँदैछु, टिकट भइसक्यो’ भने। यहाँ कुनै केस आए उनी बेलायती डाक्टरसँग मिलेर सर्जरी गर्थे। बेलायतमा कुनै नयाँ केस भए उनी पनि उतै गएर मिलेर सर्जरी गर्थे। फेरि छोरीपनि उतै पढिरहेकोले मैले पनि ‘त्यहीँ जानु ठीक छ’ भनें। त्यसपछि उनी त्यता गएका हुन्। तर, त्यहाँ गएपछि यहाँ चाहिँदो नचाहिँदो गर्न थाले।

उहाँको आफ्नै ‘केस’ चाहिँ कस्तो हो त? त्यसलाई ‘अब्सट्रक्टिभ जन्डिस’ भन्दारहेछन्। त्यसले गर्दा शरीरमा पहेंलो देखिन थाल्यो। एक पटक सर्जरी गरेर हात धुन लाग्दा ऐनामा उनले आफ्नो आँखा पहेंलो देखेछन्। न्युरो हस्पिटलको बेसिनमा हात धुँदाधुँदै त्यस्तो देखेपछि ‘यो सामान्य होइन, यसलाई विदेशमा गएरै उपचार गर्नुपर्छ’ भन्ने ठानेर उनी लण्डन गएका हुन्। त्यहाँ ‘डिटेल डाइग्नोसिस’ र ‘टेस्ट’ हरु भइरहेको छ। केहि ‘टेस्ट’ हरु भइसक्यो, त्यसको रिपोर्ट राम्रो आएको छ। तर क्यान्सर भएको भन्ने कुरा चाहिँ वाहियात हो।

उहाँसँग तपाईँको पछिल्लो समय कुरा कहिले भएको थियो? भर्खरै पनि कुरा भएको थियो। अहिले उनी हस्पिटलबाट ‘डिस्चार्ज’ भइसकेका छन्। आवश्यकता अनुसार ‘फलोअप’ मा जाने भइरहेको छ। अझै सम्पूर्ण प्रकृया सकिन एकदुई महिना लाग्न सक्छ। किनभने, नेपालमा जस्तो अलिकति निको हुनासाथ अस्पताल छाडेर हिँड्ने भन्ने कुरा बेलायतमा हुँदैन।

उहाँको स्वास्थ्यलाभको कामना गर्ने डाक्टरहरुको नियतमाथि प्रश्न उठाउनु भयो। किन हो? नेपालका डाक्टरहरु आफ्नो ‘प्रोफेसन’ मर्यादा के हो भन्नेमा सचेत छैनन्। डाक्टरले डाक्टरकै सुस्वास्थ्यको कामना गर्दा पशुपतिमा गएर बत्ति नै बाल्नुपर्छ? तपाईंप्रति मेरो सहानुभूति छ भन्नु र समवेदना छ भन्नुमा फरक पर्छ। शब्द उही हो। तर शब्दको प्राथमिक अर्थ के हो? शब्दको अर्थ प्रारम्भिक महत्वको, दोश्रो महत्वको, तेश्रो महत्वको, चौथो, पाँचौ महत्वको भन्ने हुन्छ। जुन चिज आफ्नो मन र हृदयबाट व्यक्त गर्न खोजिएको हुन्छ, जसलाई हामीले व्यक्त गर्न खोजेका हुन्छौं, उसलाई पनि शब्दले सकारात्मक सन्देश दिनुपर्‍यो नि!

विद्वानहरुले शब्द भनेको ब्रह्म हो भनेका छन्। शब्दले त्यति ठूलो काम गर्छ। सही ठाउँमा सही अर्थ दिने शब्दमात्र प्रयोग गर्नुपर्छ। गलत ठाउँमा शब्द प्रयोग भयो भने त्यसको अनर्थ हुन जान्छ। मान्छेहरुले त्यो कुरा बुझेनन्। मेरो घरमा पनि सधैं बत्ती बल्छ, सबै परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रत्येक साँझ हामीले घरमा बत्ती बाल्छौं। अब मैले बत्ती बालें भनेर प्रचार गर्दै हिंड्ने? त्यसको के अर्थ हुन्छ, तपाईं आफैं बुझ्नुस्। नेपाल खबर बाट साभार