काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरेका छन् । उनले प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको नभई माओवादीले नै बार्गेनिङका लागि हल्ला चलाएको आरोप समेत लगाए । केही समयअघि प्रचण्डलाई कांग्रेसे प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयले राजनीति बृत्त तातेको थियो ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भिर समिक्षा गर्नुपर्ने र पार्टीलाई पूर्नजीवन दिलाउनको लागि अब बस्ने केन्द्रिय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए । उनले थपे ,‘पहिला केन्द्रिय कार्यसमितिको बैठक बस्छ, त्यसपछि सोही बैठकले महासमिति बोलाउनेबारे निर्धारण गर्छ।’
साक्षात्कारमा बोल्दै उनले कांग्रेस अब रुपान्तरण हुने स्पष्ट पारे । शर्माले थपे,‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समिक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होईन, त्यसैले विरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगीकन घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन्।’ उनले कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए । उनले भने,‘हामी बदलिन्छौं, अब पूर्ननिर्माणको अभियान सुरु हुन्छ।’
पार्टी प्रवक्ता भएपनि ७ भाईवीच फाटो आउँदैन त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केहि साथीहरुलाई लाग्यो, मैले त्यसैबेला राजनीतिलाई उमेरले होइन एजेण्डाले ड्राइभ गर्छ भनेको थिएँ। त्यसैले सत्तरी कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले डा«ईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो।’
उनले आफूहरु ७ जनाले हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्दैगर्दाको प्रसँग उल्लेख गर्दै त्यतिवेला कुनै क्लब गठन गर्नको लागि हस्ताक्षर नगरिएको स्पष्ट पारे । उनले भने ,‘हामीले गुटको गठन गरेको होईन।’ उनले अघि थपे,‘सातजनाको विज्ञप्तिमा त्यो पनि छैन। सातजनाको विज्ञप्तिमा जे छ त्यसको स्पिरिटप्रति म अहिलेपनि प्रतिवद्ध छु। त्यो भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ, गम्भीर आत्मसमिक्षा गर्नुपर्छ, महासमितिको बैठकमार्फत त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा जानुपर्छ।’
शर्माले आफू पूर्ववर्ती धारणाबाट ब्याक नहुने बताउँदै भने,‘प्रवक्ता हुनु अगाडि म जुन ठाउँमा उभिएको थिएँ, प्रवक्ता भइसकेपछि पनि म त्यहिँ छु। पहिला केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस् भन्ने ठाउँमा थिएँ अहिले केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ भन्ने ठाउँमा आइपुगें। त्यसबेला विशेष महाधिवेशन हुनुहुन्न भनें अहिले मैले त्यसो भन्दिनँ। प्रवक्ताका रुपमा मैले पार्टीको विधानलाई पनि हेर्नुपर्छ र पार्टीको विधानले केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन सक्छ भन्छ। निश्चित महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन केन्द्रले बोलाउनुपर्छ।










