पार्थ मण्डल- भद्रपुर (झापा) : प्रहरीले झापाका नेपाल–भारत खुला सीमानाकाबाट चोरी पैठारी गरी नेपाल भित्र्याएका मोटरसाइकल बेचबिखन गर्ने गिरोहमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक गरेको छ। प्रहरीले गहिरोमा संलग्न उनीहरूबाट छवटा मोटरसाइकल पनि बरामद गरेको इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडका नायव प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ६ का सुदीप रिजाल, बिर्तामोड– १० का वीरेन्द्र लिम्बू, सोही नगरपालिका– २ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका– २ हाल ः वडा नं.– ६ निवासी ओमप्रकाश सेन्चुरी (विश्वकर्मा), कचनकवल गाउँपालिका– २ निवासी संजोग लिम्बू, कन्काई नगरपालिका– २ निवासी विशाल पुरी, अभिषेक मगर र भद्रपुर नगरपालिका– २ का युवराज राई रहेको नायव प्रहरी उपरीक्षक कोइरालाले बताए। पक्राउ परेका उनीहरूको साथबाट कालो सेतो रङको नम्बर नखुलेको र सेतोकालो रङको बा७९प ३९७६ नम्बरका दुईवटा रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल, कालो रङको बा४२प ३२१७ नम्बर र बा५३प ९१४९ नम्बरका दुईवटा पल्सर मोटरसाइकल, सेतो कालो रङको मे८प ५३३८ नम्बरको केीिएम डुक र नीलो रङको मे६प २५६९ नम्बरको पल्सर मोटरसाइकल फेला परेको छ।
पछिल्लो समय झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड आसपासको क्षेत्रमा मोटरसाइकल चोरी हुने क्रम बढेको थियो। मोटरसाइकल चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता हुन थालेपछि प्रहरीले मोटरसाइकल गिरोहको खोजी कार्य सुरु गरेको नायव प्रहरी उपरीक्षक कोइरालाले बताए। ‘मोटरसाइकल चोरी हुन थालेपछि प्रहरी कार्यालय झापाको सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन गरेका थियौँ’, उनले भने, ‘सोही अनुसन्धानको क्रममा चोरीको मोटरसाइकल फेलापरेको थियो।’
चोरी गरेको मोटरसाइकल फेलापरेपछि मेची यातायात व्यवस्था कार्यालयमा यस विषयमा बुझ्दा नेपालमा दर्ता नभएको भेटाएपछि भारतबाट चोरी गरी नेपाल ल्याएको अनुसन्धानबाट खुलेको उनले बताए। थाहा खबर बाट










