संवादमा देउवाले ओलीलाई स्वास्थ्यलाभको कामना गरे र प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा सोधे । ओलीले १६ गतेको बैठक स्मरण गर्दै टेलिफोनबाटै भने– ‘सरकारले गर्नु पर्ने काम गर्नुस् भनेर मैले बैठकमै भनेको छु, तपाईं किन रोकिनुहुन्छ प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न ?’ त्यसैबेला देउवाले पनि भने– ‘भोलि त नबस्ला, शुक्रवार क्याविनेटको बैठकले त्यो काम गर्छ ।’
काठमण्डौ/एमालेले सहमति नदिएका कारण प्रदेश प्रमुख र अस्थायी मुकामहरु तोक्न नसकेको सरकारका तर्फबाट प्रचार भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २८ गते नै प्रदेशको अस्थायी मुकाम र प्रमुखहरु चयन गर्ने वचन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको खुलासा भएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि २६ पुसमा थाइल्याण्ड जानुअघि विहान सवा नौ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच यस विषयमा टेलिफोन सम्वाद भएको र देउवाले २८ गते नै सरकारका तर्फबाट गर्नु पर्ने सबै काम गर्ने वचन दिएको एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले खुलासा गरेका छन् ।
देउवा र ओलीबीचको टेलिफोन संवादको तारतम्य पनि नेम्वाङले नै मिलाएका रहेछन् । स्रोतका अनुसार पुस २५ गते नेम्वाङ र कांग्रेस नेता मिनेन्द्र रिजालवीच अनौपचारिक कुराकानी हुँदा नेम्वाङले ठट्टा गर्दै रिजालसँग भने– ‘सरकारले गर्नु पर्ने काम गर्नुस् भनेर १६ गतेको बैठकमै भन्दा पनि प्रधानमन्त्रीज्यूले किन चासो नदिनु भएको होला ? भोलि हाम्रो अध्यक्ष स्वास्थ्यजाँच गर्न विदेश जाँदै हुनुहुन्छ । यसो स्वास्थ्यलाभको कामना पनि गर्नु पर्दैन ?’
नेम्वाङले यति भनेपछि रिजालले त्यसमा सहमति जनाए र एउटा आइडिया निकाले । उनले २६ गते विहान आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार जाने र त्यहिँबाट नेम्वाङलाई फोन गर्ने, त्यहि समयमा नेम्वाङ ओली निवास बालकोटमा जाने सहमति भयो । रिजालले भने अनुसार वालुवाटारबाट रिजाललेको फोन नेम्वाङको मोवाइलमा बज्यो । रिजाल र नेम्वाङको मोवाइलमा ओली र देउवाले राजनीतिक संवाद गरे ।
संवादमा देउवाले ओलीलाई स्वास्थ्यलाभको कामना गरे र प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा सोधे । ओलीले १६ गतेको बैठक स्मरण गर्दै टेलिफोनबाटै भने– ‘सरकारले गर्नु पर्ने काम गर्नुस् भनेर मैले बैठकमै भनेको छु, तपाईं किन रोकिनुहुन्छ प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न ?’ त्यसैबेला देउवाले पनि भने– ‘भोलि त नबस्ला, शुक्रवार क्याविनेटको बैठकले त्यो काम गर्छ ।’ तर, शुक्रबारको क्याविनेट बैठकले पनि प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोकेपछि एमालेको सहमति नभएर प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्न नसकिएको प्रचार प्रधानमन्त्री निकट स्रोतले गरेको छ । प्रधानमन्त्री देउवा प्रदेशका अस्थायी केन्द्र र प्रदेश प्रमुख तोक्न समेत ढिलाई गरी राष्ट्रियसभाको चुनाव ढिलाई गर्न चाहन्छन् भन्ने सन्देश उनका तर्फबाट आएको छ ।










