किरा परेको दाँत उखेल्न बीर अस्पताल आएका बिरामीको उपचारमा लापरवाही गर्दै सद्दे दाँत उखेल्ने चिकित्सकलाई अस्पताल प्रशासनले बर्खास्त गरेको छ । किराले खाएको दाँत उखेल्न एकहप्ताअघि बीर अस्पताल पुगेका शरण बानियालाई अस्पतालका चिकित्सक डा सोजन खत्रीले किरा परेको दाँत नउखेलेर अर्को सद्दे दाँत उखेलेर पठाएका थिए ।
पीडित बानियाले भने ‘किरा परेको दाँत झिकेको ठानेर घरमा गएँ । केही बेरपछि दाँतमा राखेको कपास झिकेर ऐनामा हेर्दा पो थाहा पाएँ डाक्टरले त किरा परेको होइन सद्दे दाँत पो झिकेको रहेछ ।’
किरा परेको दाँत नउखेलेर उल्टै केही नभएको सद्दे दाँत झिकेपछि बानिया निकै आक्रोशित बनेका थिए । उनले आफ्नो उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै बीर अस्पताल प्रशासनमा गुनासो गरेका थिए । आन्तरिक छानबिनका क्रममा डा सोजन खत्रीले विरामीको उपचारमा लापरवाही गरेको पाइएपछि उनलाई निलम्बन गरेको अस्पताल प्रशासनले जनाएको छ ।










