लमजुङ, १ माघ– पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने, ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।’

एमाले वरिष्ठ नेतासमेत रहेका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने बताए । ‘हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ’, उनले भने, ‘संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए । हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ, ‘उनले भन्नुभयो, ‘अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ ।’

नेता खनालले संविधानले सबै जातिको मौलिक अधिकार सुनिश्चित गरेको पनि बताए । लिःल घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा मुलुकभरीबाट घले समुदायको सहभागिता थियो । रासस