काठमाण्डौ, २ माघ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताएको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उनले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेता र आम भारतीय जनतामा शुभकामना व्यक्त गरे । भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएका उपराष्ट्रपतिका प्रेस संयोजक घर्तीले जानकारी दिए । भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताको अभिमतलाई भारतले स्वागत र सम्मान गर्ने बताउँदै उनले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको बताए ।

राजदूत सिंहले भारत र नेपालबीच राजनीतिक र भौगोलिक सिमानाको सम्बन्धमा मात्रै सिमित नरही जनस्तरसम्म फैलिएको उल्लेख गर्दै प्रविधि, पूर्वाधार, जलविद्युत्, व्यापारलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको बताए । रासस