प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ । अब प्रदेश प्रमुखहरुले राष्ट्रपतिसँग सपथ लिनेछन् भने अस्थायी मुकाममा उनीहरुको कार्यालय स्थापना हुनेछ । प्रदेश प्रमुखको नियुक्ति भएपछि निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाउने संवैधानिक प्रावधान रहेको छ ।

प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको बीस दिनभित्र प्रदेश सभाको बैठक बोलाउने व्यवस्था रहेको छ । प्रदेशसभाको पहिलो बैठकमा भाग लिनुभन्दा पहिला प्रदेश सांसदहरुले प्रदेश प्रमुखबाट सपथ लिनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेमा दुई वा दुई भन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।

प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत छ भने प्रदेश नम्बर ६ मा एमालेबिना सरकार बन्न सक्दैन। प्रदेश नम्बर २ बाहेकका प्रदेशमा एमाले–माओवादी गठबन्धनको बहुमत रहेको छ ।