काठमाडौं, माघ ४। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन। भुसालले दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन।

दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न जिम्मेवारी दिएकाले अब चाँडै पूरा हुने उनको भनाइ थियो। मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै नेत्री भुसालले भनिन्,“जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे बताउँदै उनले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने बताइन्।