‘फेसबुक खोलेपछि मान्छेले सकारात्मक अनुभूव गरून्, साथीभाइ र आफन्तबीच निकटता बढाऊन् भन्ने हाम्रो चाहना हो,’ फेसबुक संस्थापक मार्क जुकरवर्ग भन्छन्।
उनको यो भनाइसँगै फेसबुकमा परिवर्तन आएको छ। यसमा देखिने न्यूजफिड अब यो ‘सुरूआती दिन’ कै अवस्थामा फर्कनेछ। अर्थात् केही वर्षदेखि हामीले न्युजफिडमा देख्दै आएका पोस्टको प्रकार पूर्ण रूपमा बदलिनेछ।
पछिल्लो समय फेसबुक न्युजफिड विज्ञापन गरिएका विभिन्न कम्पनी, संस्था, व्यावसायिक फर्म वा सञ्चार माध्यमका पोस्टले भरिन्थे। भ्रामक र झुटा समाचार पोस्ट गर्ने वेबसाइट पनि सक्रिय हुँदै गएका थिए। अब यस्ता साइटका पोस्ट प्राथमिकतामा पर्ने छैनन्।
यिनको साटो आफन्त तथा साथीभाइका पोस्ट देखिनेछन्। त्यसमा पनि बढी कुराकानी हुने, कमेन्ट तथा लाइक गर्ने, सेयर गर्ने साथीका सबभन्दा माथि देखिनेछन्। तपाईं जोसँग धेरै अन्तर्क्रिया गर्नुहुन्छ, उसैका पोस्ट सबभन्दा पहिले देखिनेछन्। कुनै सञ्चार माध्यमको लिंक न्युजफिडमा यसै आउने छैन। साथीले सेयर वा ‘सजेस्ट’ गरेको हुनुपर्छ।
‘फेसबुक आविस्कार नै साथीभाइसँग सम्पर्क बढाउन भएको हो,’ जुकरवर्गले भने, ‘यही सुविधामा जोड दिइनेछ।’
त्यस्तै सामाजिक सञ्जाल आफैं समाचारमा हावी भएका कारण अमेरिकी चुनावताका र अन्य राजनैतिक गतिविधिमा निकै भ्रामक खबर फैलिएको पनि आरोप छ।
पछिल्ला केही वर्ष फेसबुक मान्छेबीचको सम्पर्कभन्दा बढी समाचार केन्द्रित थियो। कुनै चासो नभएका पोस्टले न्युजफिड भरिएको गुनासो प्रयोगकर्ताले गर्दै आएका थिए। निश्चित समूहका प्रयोगकर्तालाई मात्र उपयोगी हुने पोस्टका कारण दसौं लाखले झमेला बेहोर्नुपरेको उनीहरूको भनाइ छ। त्यस्तै सामाजिक सञ्जाल आफैं समाचारमा हावी भएका कारण अमेरिकी चुनावताका र अन्य राजनैतिक गतिविधिमा निकै भ्रामक खबर फैलिएको पनि आरोप छ।
फेसबुकमा झुटा समाचार र नक्कली संस्था पनि सक्रिय भएकाले धेरै मान्छेमा नकारात्मक प्रभाव परेको छ। यस्तै विभिन्न खाले गुनासा र समस्याबाट मुक्त हुन फेसबुकले यो निर्णय गरेको बताएको छ।
यो कदम फेसबुकका निम्ति सहज छैन। न योसँग जोडिएका सञ्चार माध्यम वा व्यावसायिक संस्थालाई नै। ‘प्रयोगकर्ताको हितमा गरिएको यो निर्णयले हामीलाई निकै समस्या पनि थप्नेछ,’ जुकरवर्गले भने, ‘लामो समयदेखि प्रकाशक र साझेदार कम्पनीका पोस्टलाई स्थान दिएका थियौं। जुन स्थान अब प्रयोगकर्ताका पोस्टले नै लिनेछ।’
फेसबुकको नयाँ नीतिले संसारभरका हजारौं अनलाइन सञ्चार माध्यम प्रभावित हुनेछन्। ‘यो परिवर्तनले कस्तो प्रभाव पार्छ भन्ने कसैलाई यकिन छैन। ‘आकलन गर्दा वर्षौंदेखि सामाजिक सञ्जालले समाचारमा गर्दै आएको राज समाप्त हुने देखिन्छ,’ स्लेट ग्रुपका अध्यक्ष तथा सम्पादक ज्याकब विसवर्गले भने।
फेसबुकले सञ्चार माध्यमलाई आफ्नो प्लेटफर्ममा स्थान दिएर प्रयोगकर्ता र पत्रकारलाई व्यस्त बनाएको थियो। पत्रकारले कुनै विषय उठाउन पाउँथे भने प्रयोगकर्ता त्यसमा सहभागी भएर कुराकानी गर्न।
अधिकांश प्रयोगकर्ता फेसबुकमा आएका त्यस्ता समाचार वास्तै गर्दैन थिए।
सुरुआती दिनदेखि नै सञ्चार माध्यम र फेसबुकको सम्बन्ध भने नमिल्दो थियो। फेसबुक ‘समाचार भण्डार’ बनेपछि सञ्चार माध्यम र पत्रकार प्रतिनिधिहरू चाहे पनि नचाहे पनि यसमा संलग्न हुनै पर्यो। कम्पनीले पनि दुई अर्बभन्दा बढी फेसबुक प्रयोगकर्तासम्म पुग्ने अवसर देखायो। तर, अधिकांश प्रयोगकर्ता फेसबुकमा आएका त्यस्ता समाचार वास्तै गर्दैन थिए।
केही वर्षसम्म फेसबुक र सञ्चार माध्यमहरुबीच सहकार्य भयो। न्युजफिडभरि समाचारकै बाहुल्य रह्यो। कुनैबेला साथीभाइका व्यक्तिगत पोस्टहरू देख्दै आएका प्रयोगकर्ताले समाचार मात्र देखे। तिनै समाचारमा आफ्ना साथीभाइले गरेका प्रतिक्रिया देखे, जसमा प्रयोगकर्ता कुनै चासो दिदैंनन्।
कम्पनीले प्रयोगकर्ता लामो समय अडिरहून् भनेर धेरै उपाय लगाएको थियो। उनीहरुले सामाजिक सञ्जाल प्रयोग गरेर आनन्द लेलान् र यसबाट प्राथमिकतामा राखिएका पोस्टमार्फत् व्यवसाय बढ्ने जुकरवर्गको आशा थियो।
प्रयोगकर्ता भने विपरित भए। प्राथमिकता दिएका पोस्टमा अल्झिनुभन्दा अन्तै जान थाले।
फेसबुक र अन्य अनुसन्धानकर्ताले केही समयता न्युजफिडका निस्क्रिय पोस्ट र प्रयोगकर्ताको व्यवहारमाथि अध्ययन तथा सर्वेक्षण गरिरहेका थिए। प्रयोगकर्ताहरूले आफ्ना साथीभाइसँग सम्बन्धित पोस्ट हराएका र कुनै व्यावसायिक प्रयोजनका मात्र देखिन थालेर दिक्क भएको बताएका थिए। उनीहरू आफ्ना साथीभाइ र बालबच्चाका पोस्टमा धेरै रमाउने बताएका थिए।
‘सर्वेक्षणमा जे पायौं त्यसले हामीलाई ऐना देखाइदियो। आखिर फेसबुक किन स्थापना गरिएको होरु मान्छेलाई सम्बन्ध कायम राख्न र बनाउन पो हो त। त्यस्तो भइरहेको रहेनछ। त्यसैले अब हामीले यो समस्या समाधान गर्नुपर्छ ताकि फेसबुक स्थापनाको औचित्य कायम होस्,’ जुकरवर्गले भने।
धेरै सञ्चार माध्यमले फेसबुकमार्फत पाठकसँग बलियो सम्बन्ध बनाइसकेका छन्। उनीहरूमध्ये केही यही सम्बन्धका आधारमा चलायमान छन्।
पहिले ‘अर्थपूर्ण’ विषयवस्तुमा जोड दिइने गरेकोमा अब साथीबीचको महत्वपूर्ण र अर्थपूर्ण अन्तर्क्रियामा जोड दिइने उनले बताए।
यता फेसबुक आफ्नो भूमिका ‘सुधार्न’ तर्फ लाग्दा यसको भर परेका हजारौं प्रकाशक र व्यावसायिक साइट भने समस्यामा परेका छन्। कुनै बेला पूर्ण ‘समर्थन’ दिएर बीचमै छाडिदिदाँ उनीहरू धर्मराउने अवस्था छ। धेरै सञ्चार माध्यमले फेसबुकमार्फत पाठकसँग बलियो सम्बन्ध बनाइसकेका छन्। उनीहरूमध्ये केही यही सम्बन्धका आधारमा चलायमान छन्। अब भने उनीहरूका पाठक संख्या, विज्ञापन र समाचार सबैको संख्या घट्दै जानेछ।
‘फेसबुकले द्रुत गतिमा चालेको यो कदमबाट बल्ल हामीले बुझ्यौं, यो कति शक्तिशाली प्लेटफर्म भइसकेको रहेछ,’ फाइनान्सियल टाइम्सका प्रमुख कार्यकारी जोन रिडिङले भने।
गत डिसेम्बरमा बजफिडका प्रमुख कार्यकारी जोना पेरेटीले सामाजिक सञ्जाल र सञ्चार संस्थाबीचको द्वन्द्व सार्वजनिक रूपमै खुलाएका थिए। फेसबुक र गुगलले विज्ञापनका निम्ति सञ्चार माध्यमहरू प्रयोग गरेको उनको भनाइ थियो। ‘हामीले दिने महत्वपूर्ण विषयलाई आधार बनाएर उनीहरूले आफ्नो विज्ञापन बढाइरहेका छन्,’ पेरेटीले लेखेका छन्।
अमेरिकामा आधाभन्दा बढी वयस्क पाठक फेसबुकमार्फत नै समाचारसम्म पुग्छन्। यो आँकडा पिउ रिसर्च सेन्टरले हालसालै गरको शोधबाट निकालिएको हो। फेसबुकले हात झिकेपछि अब ती पाठकले प्रकाशकबाटै आएको समाचार एकदमै कम देख्नेछन्। उनीहरूले आफ्ना साथीभाइ र आफन्तका गतिविधि धेरैभन्दा धेरै हेर्न पाउनेछन्।
फेसबुकका कारण समाजमा सिर्जिएका समस्याहरू न्यूनीकरण प्रयास गर्ने बताउँदै उनले एक पोस्ट गरेका थिए– हामी प्रयोगकर्तालाई अहिलेसम्म फेसबुकमा राम्रो समय बिताएँ भन्ने अनुभूति दिन चाहन्छौं।
फेसबुकलाई धेरै सञ्चार माध्यमले ‘भर पर्न नसकिने’ साझेदारीका रूपमा पनि लिन थालेका छन्। केहीले भने यसले समाचार प्रसारण शैली बिगारेर बीचमै छाडिदिएको बताएका छन् भने, कसैले उसको ‘राज’ सकिएकोमा सन्तुष्टि जनाएका छन्।
‘सामाजिक सञ्चाल समाचार’ युग समाप्त हुनेतर्फ मोडिएसँगै प्रकाशकहरूलाई पाठक आफ्नो वेबसाइटसम्म डोर्याउने चुनौती थपिएको छ।
जहाँ जे भए पनि जुकरवर्गले भने अब समाचार संसारबाट अलग्गिने निर्णय गरिसकेका छन्। यो वर्ष सुरुआतमै जुकरवर्गले यसबारे केही जानकारी दिएका थिए। फेसबुकका कारण समाजमा सिर्जिएका समस्याहरू न्यूनीकरण प्रयास गर्ने बताउँदै उनले एक पोस्ट गरेका थिए– हामी प्रयोगकर्तालाई अहिलेसम्म फेसबुकमा राम्रो समय बिताएँ भन्ने अनुभूति दिन चाहन्छौं। यो वर्ष हाम्रो लक्ष्य भनेको बिग्रेका काम सपार्नु हो। यसमा सबैको साथ छ भन्ने मलाई विश्वास छ।
यसको केही समयपछि फेरि उनले भनेका थिए– यो समग्र प्रणालीमा हुने नकारात्मक कुराको व्यवस्थापन गर्नु मेरो जिम्मेवारी हो।
‘कुनै एक कुरा खराब कामका निम्ति प्रयोग भयो भन्दैमा त्यो खराब नै भन्ने हुँदैन,’ उनले भने, ‘गलत कुरा के हो भन्ने त पत्ता लगाउनु पर्यो ताकि त्यसको निवारण गर्न सकियोस्।’
अनियन्त्रित र अव्यवस्थित हुनाले देशको राजनीति र अर्थतन्त्रमा समेत हावी भएको आरोप कम्पनीले खेप्दै आएको छ।
फेसबुक विवादमा परेको लामो समय भइसक्यो। अनियन्त्रित र अव्यवस्थित हुनाले देशको राजनीति र अर्थतन्त्रमा समेत हावी भएको आरोप कम्पनीले खेप्दै आएको छ। यति मात्र नभएर समाज र विशेषगरी केटाकेटीमा मानसिक विचलन र व्यवहार बिगारेको पनि थुप्रै घटना देखिएका छन्।
यिनै कुरा मध्यनजर गर्दै फेसबुकले ‘बिगारेका कुरा’ सुधार्न लागिपरेको जुकरवर्गले बताएका छन्। ‘मेरा दुई छोरी भइसकेपछि मैले अनुभूति गरेँ। फेसबुकको विरासत र यसलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदैछ। मेरा छोरीलाई नलागोस् कि बुबाले संसारलाई नराम्रो दिशामा धकेले। त्यसैले घाटै भए पनि कम्पनीको छवि सुधार्न र मान्छेबीच लोकप्रिय हुने काम गर्ने हो। ताकि मेरा छोरी हुर्केपछि भनून्– हाम्रा बुबाले संसारको हितमा काम गरे। सेतोपाटीबाट साभार










