एमालेले वरिष्ठ बामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ । एमालेले आगामी २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा अधिकारीलाई उम्मेदवार बनाउने भएको हो ।
राष्ट्रिय सभा सदस्यका लागि १० माघमा उम्मेदवारी मनोनयन गर्दा हुँदैछ । पटकपटक सांसद भइसकेका अधिकारीसँग संसदीय राजनीतिको लामो अनुभव छ । मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारीले नै ‘आफ्नो गाऊँ आफैं बनाऔं’ कार्यक्रमको अवधारणा अघि सारेका हुन् ।
मोरङ निवासी अधिकारी पछिल्लो समय स्वास्थ्यका कारण राजनीतिक गतिविधिमा कमै संलग्न छन् । एमालेका एक स्थायी समिति सदस्यले अधिकारीको नाममा सर्वसम्मति रहेको बताए । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीको लामो र निरन्तरको योगदान छ’, उनले भने, ‘अनुभवी र पाका नेता भएका कारण उहाँलाई राष्ट्रिय सभामा पठाउने तयारी भएको छ ।’
राष्ट्रिय सभा सदस्य बनाउनकै लागि उनलाई यसअघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाइएको ती नेताले स्पष्ट गरे ।










