काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आइतबार (आज) बस्दैछ ।
अपरान्ह ३ बजे नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा बोलाइएको एकता संयोजन समितिको बैठकले कार्यदलले यसअघि बाँडफाँट गरेको संख्याका आधारमा राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउने र प्रदेशको भागवण्डा तय गर्न लागेको हो । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको छलफलले यी विषयमा मोटामोटी सहमति गरेको र तिनै विषयलाई बैठकले अन्तिम रूप दिने बताइएको छ ।
यसअघि कार्यदलले एमाले २९ र माओवादी केन्द्रले १४ सिटमा उमेदवार उठाउने गरी भागवण्डा गरिसकेको छ । राष्ट्रियसभामा निर्वाचनमार्फत छानिने ५६ सिटमा वाम गठबन्धनले ४३ सिट जित्ने आँकलन गरेको छ र सोही अनुसार भागवण्डा मिलाएको छ ।
आइतबार सातै प्रदेशका सांसदहरूले शपथ ग्रहण गरेका छन् र प्रदेश सरकार गठनको तयारी सुरू भएको छ । त्यसैले पनि एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सभामुखको टुंगो लगाउने तयारी गरिएको बुझिएको छ । २ नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशमा वाम गठबन्धनकै सरकार बन्ने सम्भावना रहेकाले एमाले, माओवादीले प्राप्त गरेको मत, एकताको भावना र शक्ति सन्तुलनका आधारमा मुख्य पद बाँडफाँट गर्न लागिएको हो ।
त्यस्तै आजको बैठकले दुई पार्टीको एकताको मोडालिटी र राजनीतिक, वैचारिक कार्यदिशाको स्वरूप टुंग्याउने कार्यसूची रहेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । माओवादी नेतृत्वमा सुरू भएको जनयुद्ध, माओवाद, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले पछिल्लो समय अंगिकार गरेको २१ औँ शताव्दीको जनवादलाई समेत, समायोजन संश्लेषण गरेर नवगठित पार्टीको विचार बनाउने भन्ने विषयमा मुहूर्त धारणा बनाउन नयाँ कार्यदल बनाउने विषयमा दुई अध्यक्ष सहमत देखिएका छन् ।
शनिबार बालकोटमै बसेको दुई अध्यक्षको बैठकले राजनीतिक, वैचारिक कार्यदिशाका बारेमा मोटामोटी सहमति भएको र त्यसलाई अन्तिम रूप दिन कार्यदल बनाउन लागिएको एमाले नेताहरूले जानकारी दिएका छन् । बार्हखरीबाट साभार










