काठमाडौं– रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेलको हत्या गुन्डा नाइके मनोज पुनकै समूहबाट भएको पुष्टि भएको छ। हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा स्थानीय प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो। तर, गिरोहका नाइकेहरु भने अझै फरार छन्।
रुपन्देहीका एसपी श्याम ज्ञवालीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे।
पौडेलको गत पुस २१ गते हत्या भएको थियो। एक महिना लामो अनुसन्धानपछि हत्याका अभियुक्तहरु पक्राउ परेका हुन्।
व्यक्तिगत दुश्मनी र अन्य व्यवसायीलाई तर्साएर पैसा असुल्ने उदेश्यले पुनले आफ्ना सहयोगी खटाएर हत्या गरेको अनुसन्धानमा आबद्ध अधिकारीहरु बताउँछन्। पुन भने विगत २ वर्षदेखि प्रहरीलाई छक्याउन सफल छन्।










