विष्णुप्रसाद पोखरेल
दमक/ ‘इनकमिङ’ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर नयाँ बर्षको शुभकामना दिनका साथै भारत भ्रमणको औपचारिक निम्ता दिएकाछन् ।
भारतीय प्रधानमन्त्री मोदीले ओलीलाइ भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिदै पदभार ग्रहणपछि भारत भ्रमणमा स्वागतका लागि आतुर रहेको बताएको जनाइन्छ ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आइतवार दिउसो मोदीले ओलीलाइ फोन गरेका थिए । सो अवसरमा ओलीले पनि मोदीलाइ नेपाल भ्रमणको निम्ता दिएको अधिकारीले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेको र त्यस बिषयमा मोदीले सकारत्मक जवाफ दिएको बताइएको छ । मोदीले सम्बन्ध सुधारका लागि यो प्रयास गरेको बताइन्छ ।
ओलीलाइ भारत बिरोधी नेताको रुपमा चित्रित गरिदै आएको छ । यसलाइ चिर्नका लागि ओलीले पनि बारम्बार रुपमा आफू भारत बिरोधी नरहेको बताउदै आएकाछन् ।
नयाँ सरकार बन्ने तरखरमा रहेको अवस्थामा मोदीको यस फोनलाइ महत्वका साथ हेरिएको छ । नयाँ बर्ष शुरु भएको आधा महिनापछि नयाँ बर्षको शुभकामना दिइनुले यसको अर्थ शुभकामना मात्र नरहेको स्पष्ट हुन्छ ।
उक्त टेलिफोन बार्ता बारे ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रेसित प्रेस नोट यस्तो छ
प्रेस नोट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नु भएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ ।
प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै वहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।
मिति ः ७ माघ २०७४
चेतन अधिकारी
प्रेस संयोजक
केपी शर्मा ओलीको सचिवालय










