विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाका जनप्रतिनिधिहरुले यस क्षेत्रका सामुदायिक बिद्यालयहरुमा सञ्चालन हुदै आएका बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण अभियान शुरु गरेकाछन् । चिसोका कारण पढ्न अप्ठेरोमा रहेका बालबालिकाहरुलाइ लक्षित गरेर स्वीटर, टाउजर, टोपी लगायतका न्यानो कपडा बितरणको अभियान शुरु भएको हो ।
नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, वडाध्यक्ष र वडासदस्यहरु सहित ५५ जना जनप्रतिनिधिहरुले ब्याक्तिगत रुपमा ‘आर्थिक बिपन्न बिद्यार्थी साहयता कोष’ बनाएर त्यसै कोष अन्र्तगत न्यानो कपडा तथा बाल बिकास केन्द्रहरुलाइ म्याट समेत बितरण शुरु गरिएको बताईएको छ ।
नगर उपप्रमुख अधिकारीका अनुसार आफूले बिद्यालयको अनुगमनमा जाँदा बिद्यार्थीहरुको धेरै बिजोग देखेर आएको र त्यस बिषयमा आएर सबै जनप्रतिनिधिसंग कुरा गर्दा कोष बनाउने सहमति बनेको हो । दमक भित्रका सामुदायिक बिद्यालयका बाल बिकास केन्द्रमा रहेका बिद्यार्थी र बाल बिकास केन्द्रलाइ सहयोग जुटाउन करिब ५ लाख रुपियाको कोष बनाईएको उपप्रमुख अधिकारीले बताइन् ।
दमक नगरपालिकाभित्र २१ वटा बाल केन्द्रहरु सञ्चालनमा रहेको जनाईएको छ । सबै बालकेन्द्रहरुमा न्यानो कपडा सहितका सामाग्रिहरु पुर्याइने दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । यसै अन्र्तगत शुक्रबारबाट न्यानो कपडा वितरण शुरु भएको हो । सामुदायिक बिद्यालयमा बिपन्न समुदायका बालबालिका नै बढि रहने भएकाले यसले ठूलो राहत हुने अपेक्षा लिइएको उनले जनाए ।
वडा नं. ७ को पृथ्वी माध्यमिक बिद्यालयबाट अभियान शुरु गरिएको र तीनसबै बाल बिकास केन्द्रमा न्यानो कपडा सहितको सामाग्रिहरु पुर्याइसक्ने उदेश्य रहेको वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले बताए ।
नियमित रुपमा यस प्रकारका अभियानहरु सञ्चालनका लागि कोष नै बनाएर अघि बढिएको जनाउदै बालबालिकाहरुलाइ चिसोबाट जोगाउनका लागि सबैले ध्यान दिनु पर्ने जनप्रतिनिधिहरुले बताएकाछन् ।










