काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री बन्न लागेकोमा टेलिफोन गरेर बधाई दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार अपरान्ह टेलिफोन गरेर मोदीले ओलीलाई नेपालको भावी प्रधानमन्त्रीकारुपमा अग्रिम बधाई दिएका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

मोदीले ओलीसँगको टेलिफोन वार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना समेत दिएका थिए । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ’, प्रेस संयोजक अधिकारीले भनेका छन्, ‘अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना पनि आदानप्रदान भएको छ ।’

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका अधिकारीले बताए । ‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ’, संयोजक अधिकारीले भने, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।’

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका अधिकारीले बताए । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले यसअघि नेपाल आउँदा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।