‘ब्याङ्ककमा छँदा तपाईंको हिमानीसँग भेटघाट र वार्ता भएको भन्ने आएको छ। कुरा के हो?’

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार अपरान्ह आयोजित एकता संयोजन समितिको बैठकमा एमाले बरिष्ठ नेता माधव नेपालले ओलीसँग प्रश्न सोधे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिण अफ्रिकाको भ्रमणबाट आइतबार नै फर्केका नेपाल त्रिभुवन विमानस्थलबाट सिधै ओली निवास पुगेका थिए।

नेपालले यस्तो जिज्ञाशा राखेपछि ओलीले एकता संयोजन समिति र राष्ट्रिय सभा निर्वाचन एवं प्रदेश सरकार सम्बन्धी कार्यदलका सदस्यसमेत सहभागी एमाले–माओवादी केन्द्रका नेताहरुलाई हिमानीसँग भएको भेटबारे सम्पूर्ण जानकारी गराए।

ओलीले गरेको ब्रिफिङ अनुसार पूर्व युवराज्ञी हिमानीसँग एक पटक होइन, दुई पटक भेट भएको रहेछ।

ओलीले बैठकमा गरेको ब्रिफिङ यस्तो थियो:

नेपाल फर्कने भन्दा अघिल्लो दिन (३ माघ) म राधिका कमरेड (ओली पत्नी) र राजेश (ओलीका सहयोगी राजेश बज्राचार्य) सँगै एउटा पार्कमा घुम्न गएको थिएँ। हाम्रो साथमा उपचारमा संलग्न एकजना डाक्टरपनि थिइन्। उनी छोरीसहित हामीसँगै त्यो पार्कमा घुम्न गएकी थिइन्।

पार्कमा घुम्दाघुम्दै एकजना केटीसँग भेट भयो। तिनको साथमा अर्की एउटी केटीपनि थिइन्। ती केटी पाइन्ट सर्टमा थिइन्। मैले ह्याट लगाएको थिएँ।

डाक्टरका छोरीसँग तिनको चिनजान रहेछ। उनीहरुले हात मिलाए। हामीसँगै भएकाले सर्ट पाइन्ट लगाएकी ती केटीले हेल्लो भनेर हात मिलाइन्। मैले पनि मिलाएँ। सर्ट–पाइन्टमा भएकाले मैले उनलाई हिमानी भनेर चिन्न सकिनँ।

पछि हामी होटलमा फक्र्यों। फर्कने बेला सर्ट पाइन्ट लगाउने ती युवती हिमानी होइनन् र भनेर राधिकाले सोधिन्। मैले होइन होला भनें। त्यो कुरा यत्तिकै टुङ्गियो।

तर नेपाल फर्कने दिन हिमानी र हामी एउटै जहाजमा पर्‍यौं। हाम्रो सिट नजिक नजिक रहेछ। उनैले मलाई नमस्कार गरिन्। र, भनिन्, ‘हिजो पनि हाम्रो भेट भएको रहेछ, तर मैले चिन्न सकिनँ।’

मैले ‘मैलेपनि तपाईंलाई चिन्न सकिनँ’ भन्ने जवाफ दिएँ। त्यसपछि स्वास्थ्य अवस्थाबारे केही कुरा भयो अनि उनी झ्यालको सिटमा गएर बसिन्। नेपाल खबर बाट