नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमाले सांसद तथा पूर्व डिआइजी नवराज सलवालले आफूविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि नेपालमा निरंकुश शासन कायमै रहेको प्रतिक्रिया दिएका छन्।
सोमबार राती सामाजिक सञ्जाल ट्विटरमा कानून र शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसके पनि अझै निरंकुश शासन शैली कायमै रहेको प्रतिक्रिया दिएका हुन्।
'कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन्। अझै पनि उसको निरंकुश शासन शैली कायमै छ', उनले भनेका छन्।
आइतबार नेपाल प्रहरीको सिफारिसमा सिलवाललार्इ खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। डिफ्युजन नोटिस पछि अभियुक्तलार्इ सलवाललार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन्। नेपालमा अपराध गरेर विदेश भागेका अपराधिलार्इ पक्राउ गर्नको लागि यो नोटिस इन्टरपोलले जारी गर्ने गरेको छ।
आइजीपी बढुवासम्वन्धी कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा अनुपस्थित भएको र प्रहरीको पक्राउ प्रयास लगातार असफल भएपछि इन्टरपाेलमार्फत डिफ्युजन नोटिस जरी गरेको प्रहरी दाबी छ।
पछिल्लो पटक सिलवालले आफू निर्वाचित क्षेत्र ललितपुर-१का जनता र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएपनि तर उक्त प्रयास असफल भएको थियो।
डिफ्युजन नोटिस जनताकाे अभिमतको अपमान
सोमबार बसेको एमाले स्थायी समितिको बैठकले सांसद सिलवाल विरुद्धको डिफ्युजन नोटिसबारे मुख खोलेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोटमा बसेको बैठकले जनताको जनमतलार्इ अपमानित गरेको भन्दै सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको हो।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ।'
यस्तो छ एमालेको ध्यानाकर्षण:
नेपालखबर बाट साभार










