काठमाडौं : चर्चित हास्य कलाकार मनोज गजुरेलले श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कुरा एक महिनापछि सोमबार फेसबुकमार्फत् सार्वजनिक गरे। उनले फेसबुक स्टाटसमा सम्बन्ध बिच्छेदका केही कारणसमेत सार्वजनिक गरेका छन्। विवाहपछि नै आफूहरुबीच मत भिन्नता रहे पनि सन्ततीको भविष्यका लागि मिलेर अगाडि बढ्ने प्रयत्न गरे पनि त्यो सफल हुन नसकेको गजुरेलको भनाइ छ।

‘पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गर्यौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘यस क्रममा छोरी आमाको र छोरो बाबुको अभिभावकत्वमा रहनेगरी सम्पत्तिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाँड गरेका छौँ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सँगै गजुरेलले सम्बन्ध बिच्छेदको विषयलाई लिएर दुवै गलत नभएको तर फरक रहेको स्वीकार गरेका छन्। उनले पारिवारिक व्यवस्थापनमा आफू असफल भएकोमा सबैसँग क्षमासमेत मागेका छन्। ‘

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन। जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु’, गजुरेलले थप लेखेका छन्, ‘ हामी दुबै गलत होइनौं तर फरक रहेछौं। त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन।’

गजुरेलको यही स्टासटमा उनकी पूर्व पत्नी मीना ढकाललेसमेत कमेन्ट गरेकी छिन्। ‘देखाऊ देखाऊ आफ्नो कला अझै। यू आर दी ग्रेट एन ग्रेटेस्ट पर्सन किप इट अप मिस्टर नौटंकी’, मीनाले मनोजको स्टाटसमाथि कमेन्ट गर्दै लेखेका शब्द यिनै हुन्। उनको कमेन्ट लगत्तै मोती राईले सकारात्मक हुन मीनालाई सुझाव दिएकी छिन्। उनलाई जवाफ दिँदै मीनाले पोजेटिभ सोच्ने तपाईंजस्ता फ्यानको जिम्मामा छोडिसके’, मीनाले जवाफ दिएकी छिन्।

मीनालाई त्यहाँ केही फेसबुक प्रयोगकर्ताले सम्झाउने प्रयास गरेका छन्। तर, उनले समग्र कलाकार नै नौटंकी हुने गरेको टिप्पणी गरेपछि अर्का फेसबुक प्रयोगकर्ता बाबु मुस्कान लेख्छन्, ‘हजुरले आफ्नो पारिवारिक कुरामा कलाकारलाई नै दोष दिनु गलत हो। मेरो विचारमा जे नहुनु थियो भइसकेको छ। दुई जनाकै उज्ज्वल भविष्यको कामना गर्दछु।’ फेरि अर्का फेसबुक प्रयोगकर्ता देबेन्द्र वानेमले थपेका छन्, ‘को दोषी हो भन्ने कुरा त कमेन्ट बाटै छर्लङ्ग थाहा भइहाल्यो नि।’

मीनाले फेरि जवाफ दिँदै लेखेकी छिन् , ‘वास्तवमा म मेरो अनुभवमा सबै त नहोलान तर, कलाकार स्वार्थी, लोभी र अवसरवादी नै मैले पाएको छु।’ अन्नपूर्ण पोस्ट बाट