काठमाडौं- विशेष अदालतले गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिने फैसला सुनाएको छ।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिने फैसला सुनाएको हो। मंगलबार गुरुङका कानुन व्यवसायीले सफाइ पाउनुपर्ने तर्क गर्दै बहस गरेका थिए।
बुधबार सरकारी वकिलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट बहस गरेसँगै दुवै पक्षको बहसपछि विशेषले गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो। गुन्डा नाइकेहरुको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पुर्याउन ४ वर्ष लागेको थियो। गुरुङसहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेत विरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो।
त्यसमध्ये मनाङेले पनि यसअघि नै सफाइ पाइसकेका छन्। नेपाल लाइभ बाट










