काठमाडौ-पूर्व युवराज्ञी हिमानी शाह आफ्ना सहयोगीहरुको दलबल सहित गोरखा प्रस्थान गरेकी छन्। गोरखाको पालुङ्टारस्थित भवानी उच्च माविको भवन निरीक्षणका लागि हिमानी त्यसतर्फ प्रस्थान गरेकी हुन्।

सो उच्च माविको भवन जापानी संस्था जोडुशु र हिमानी ट्रष्टले गरेको ३ करोडको सहयोगमा निर्माण हुँदैछ। हिमानी ट्रष्टकी सचिव श्री मल्ललगायत कार्यसमितिका सदस्यहरु मनुजा शाह, अदिति सिंह, सिर्जना ओली सहित उनी त्यसतर्फ लागेकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पालुङ्टार नयाँशक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईको गाउँ खोप्लाङ नजिकै पर्छ। आजै प्रस्थान गरेपनि उनी भोलिमात्रै पालुङटार पुग्नेछिन्। दिउसो १२ बजे गोरखाको लागि प्रस्थान गरेकी हिमानी आज चाहिँ तनहुँस्थित मोटेल डु मुग्लिनमा बस्नेछिन्।

यो होटल त्रिशुली र मस्र्याङ्दीको संगमस्थल रहेको मुग्लिनभन्दा ठीक पारिपट्टि छ। यहाँ राजपरिवारका सदस्यहरु बरोबर गइरहन्छन्। दुई वर्षअघि पनि पूर्व राजा ज्ञानेन्द्र पूर्व राजपरिवार यहाँ पुगेर रात बिताएको थियो। आज मोटल डु मुग्लिनमा बास बसेर उनी भोलि विहानै पालुङटारका लागि प्रस्थान गर्नेछिन्।

दिउसो विद्यालयको निरीक्षणपछि बेलुकी फेरि मुग्लिनमै आएर बास बस्ने र आइतबार काठमाडौं फर्कने उनको योजना रहेको छ।साभार:नेपालखबर