काठमाडौं, १२ माघ– गोर्खा पार्वत्य प्रादेशिक प्रशासन (जीटीए)का बोर्ड सदस्य तथा गोर्खा जनमुक्ति मोर्चाका सदस्य संजय थुलुङलाई काठमाडौंबाट अज्ञात समुहले फिल्मी शैलीमा काठमाडौंबाट अपहरण गरेको छ । दार्जिलिङमा केहि समयअघि चलेको गोर्खाल्याण्ड आन्दोलनका सक्रिय अभियन्ता थुरुङलाई काठमाडौंस्थित आफन्तकहाँ शरण लिएर बसेको अवस्थामा मंगलवार अपहरण गरिएको हो ।
गोर्खाल्याण्ड माग्दै दार्जिलिङमा आन्दोलनमा पश्चिम बंगालस्थित ममता बनर्जी सरकारले धरपकड गरेपछि करिव २ महिना अघिदेखि उनी नेपालस्थित आफन्तकहाँ शरण लिएर बस्दै आएका थिए । मंगलवार कतारको नम्बरबाट फोन आएपछि अपहरणको श्रृंखला सुरु भएको थियो ।
यसरी गरियो अपहरण दार्जिलिङमा गोर्खाल्याण्डको मागकर्तामाथि ब्यापक धरपकड भएपछि थुरुङ दुई महिना अघिदेखि धरानस्थित ससुरालीकहाँ बस्दै आएका थिए । गत साता धरानबाट उनी काठमाडौं आए । काठमाडौको धापासीमा कान्छा ससुरा प्रकाश मुखियाको घरमा उनी बस्दै आएका थिए ।
मंगलवार अपरान्ह थुलुङलाई कतारको नम्बरबाट फोन आयो । उनका दाजु कतारमा बस्छन् । कतारबाट टोलिफोन गर्नेले दाजुले केहि सामान नेपाल पठाइदिएको र उक्त सामान बुझिलिन उनलाई आग्रह गर्यो । दुई दिनअघि दाजुसँग टेलिफोन संवाद हुँदा सामान पठाउने कुरा नभएकाले थुलुङलाई शंका लाग्यो । उनले कतारमा दाजुलाई फोन गरे । तर, दाजुको फोन अफ थियो ।
कतारबाट फोन आएको १५ मिनेटपछि थुलुङकी कान्छीसासु तथा प्रकाश मुखियाकी श्रीमती सविता राई मुखियाको नम्बरमा नेपालकै मोवाइल नम्बरबाट फोन आयो । त्यसबेला उनी बसुन्धरास्थित आफूले सञ्चालन गरेको ब्युटिपार्लरमा गएकी थिइन् । सविता बसुन्धरास्थित ब्युटीपार्लरमा थिइन् भने संजय थुलुङ सविताका श्रीमान तथा कान्छा ससुरासँग धापासीस्थित घरमा बसिरहेका थिए ।
सवितालाई नेपालकै मोवाइल नम्बरबाट फोन गर्ने महिलाले संजयसँग नाता पर्ने नपर्ने र उनी उनको घरमा बसे नबसेको बारे सोधिन् । आफ्नो नाम नवताई फोन गर्ने ती महिलाले सवितालाई संजयका दाजुले कतारबाट सामान पठाइदिएको र आफू सामान बुझाउन आएको भन्दै तत्काल भेट्न आग्रह गरिन् । उनी ब्युटीपार्लर बन्द गरेर गोंगबु बसपार्क नजिकै गइन् । स्कूटीमा गएकी सविताले बसपार्क नजिकै मोटरसाइकल पार्किङ गर्ने स्थलमा आफू आएको वताइन् । तर सवितालाई सामान बुझाउन भन्दै फोन गर्ने महिला त्यहाँ देखिइनन्, बरु सविता भए ठाउँमा प्राइभेट नम्बर प्लेटको गाडी आएर रोकियो र उनलाई चिन्नासाथ एकैपटक तानेर गाडिमा हालियो ।
केहिबेर अघि उनलाई फोन गर्ने महिला त्यहि गाडी भित्र थिइन् । उनीसँगै गाडीका चालक र अर्काे एक जना युवक पनि गाडीभित्र हतियार सहित थिए । उनीहरुले आफूहरु सुरक्षाकर्मी भएको भन्दै संजय थुलुङ उनको घरमा भए नभएको सोधे । सविताले संजय आफ्नो भतिजीज्वाईं भएको वताइन् र उनी आफ्नो घरमा भएको स्वीकार गरिन् । तर, संजयलाई खोज्नुको कारण नवताएसम्म उनले आफ्नो घरमा लैजान वा संजयलाई त्यहाँ बोलाउन मानिनन् ।
दिउसो साढे १२ बजे अपहरणमा परेकी सवितालाई संजयलाई भेटाइदिन उनीहरुले तीब्र दवाव दिए । तर, उनले मानिन् । त्यहि क्रममा गलफत्ती परिरह्यो । उनीहरुले काठमाडौं उपत्यकाका गल्ली गल्लीमा उनलाई गाडीमै राखेर घुमाए । ज्यान लिने धम्कीसमेत दिए । पिसाव सम्बन्धी समस्या भएकी सविताले पिसाव फेर्न बाहिर निस्कन खोज्दा पनि दिएनन् । सोही क्रममा सविताको मोवाइल खोसेर उनीहरुले आफूहरुले डायल गरेको मोवाइलको नम्बर डिलिट गरिदिए । साढे ४ बजेसम्म यसरी घुमाएपछि सविताले संजयलाई फोन गरिन् । बसुन्धराको श्रीटोलमा उनीहरु चढेको गाडी रोकिएको थियो । संजयलाई त्यहिँ फोन गरेर बोलाइएको थियो । संजय त्यहाँ आएपछि अपहरणकारीले सवितालाई त्यहिँ हुत्याइदिए र संजयलाई गाडीमा हालेर लिएर गए ।
उनीहरुले आफू सुरक्षाकर्मी भएको वताएका कारण सविता र उनको परिवारले प्रहरीमा खोजखवर गर्न थाले । तर, स्थानीय प्रहरीले आफूहरुलाई थाहा नभएको जानकारी दियो । भोलिपल्ट विहान सविता र उनका श्रीमान प्रकाश बेपत्ता खोजिदिन आग्रह गर्दै प्रहरीकोमा निवेदन लिएर गए । प्रहरीले आफूहरुले संजयलाई नखोजेको वतायो । उपत्यकाका सवै प्रहरी इकाइहरुमा बुझ्दा पनि संजय नभेटिएपछि सविता र प्रकाश नेताहरुलाई गुहार्न पुगे । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री शशांक कोइराला मार्फत उनीहरुले प्रहरी नेतृत्वसमक्ष संजयलाई खोजी गर्न आग्रह गरे । प्रहरीले आफूहरुसँग संजय नभएको वताएपछि उनीहरुले राष्ट्रिय अनुसन्धान विभाग र इन्टेलिजेन्स ब्युरोमा सम्पर्क गरे । इन्टरपोलले संजयलाई खोजे नखोजेको बुझ्न खोजे । तर, उनी इन्टरपोलले सूचना जारी गरेको ब्यक्तिमा नरहेको वताएयो । अहिले आफन्तहरु संजयलाई खोज्न दार्जिलिङ र सिलिगुढीसम्म गएका छन् ।
गोर्खाल्याण्ड आन्दोलनका विरोधी पक्षका अगुवाहरुले भने संजयलाई नेपाल भारत सिमानाबाट भारतीय प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जाल मार्फत चर्चा चलाइरहेका छन् । गोर्खाल्याण्ड विरोधी पक्षले आपराधिक गिरोह परिचालन गरेर उनलाई अपहरण गरेको परिवार र आफन्तले आशंका गरेका छन् ।










