राष्ट्रपति हुने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल शुक्रबार अपरान्ह गोरखा दरबारमा देखा परे। करिब एक घण्टा दरबारमा रहेका खनालले गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजा गरे।

धर्मपत्नी रवीलक्ष्मी चित्रकार, छोरा निर्भिक, साढुभाइ र सालीसहित तीन दिनको पारिवारिक भ्रमणमा निस्केका खनालले प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुगेर शुक्रबार नै पूजा गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पले क्षति पुगेपछि पुनर्निर्माणका लागि भत्काइएको गोरखा दरबारको अवलोकन गर्दै खनालले समयमै दरबार पुनर्निर्माण हुनुपर्ने बताएका थिए। दरबार हेरचाह अड्डाका कर्मचारी सारदा भट्टराईले दरबारको पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।

खनालसहित परिवारका सदस्यले गोरखकाली दरबारभित्र रहेको काली छेउ पुगेर पूजारीसँग टीका लगाए। गोरखकाली देवीको मूर्तिलाई भने कपडाले छोपेर राखिएको छ। ‘यो काली देवता कस्तो हुनुहुन्छ हेर्न हुँदैन?’ खनालको प्रश्नको जवाफ दिँदै पूजारीले भने, ‘मिल्दैन हजुर।’

गोरखनाथ गुफास्थित मन्दिरमा पूजा गरेपछि रोट पोल्ने ठाउँमा पुगेका खनाललाई पूजारी प्रदीपनाथ योगीले गोरखा दरबार बिकास तथा संरक्षण समिति गठन गरेर राज्य स्तरबाटै बजेट उपलब्ध हुने वातावरणका लागि पहल गरिदिन आग्रह गरेका थिए।

बजेट अभावले शक्तिपीठहरुमा पूजाआजा तथा बली दिन छाडिएको दरबारका कर्मचारीहरुले खनालसमक्ष गुनासो गरेका थिए। यस सम्बन्धमा आफूले बुझ्ने खनालले बताए। दरबारमा आवश्यकता भन्दा कम कर्मचारी हुँदा समस्या भएको उनीहरुको भनाइ थियो।

योगीले खनाललाई टीका लगाइदिए भने प्रसादको रुपमा रोट, सुन्तला र स्याउ दिए। रोट खाँदै गर्दा झलनाथले योगीको हातबाट टीका थापेका सुरक्षाकर्मीलाई भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ ।’ पूजारी योगीले रोट (प्रसाद) खाए/नखाएको प्रश्नमा नेता खनालले भने, ‘खाएँ, खाएँ। नखाए त पृथ्वीनारायण जस्तो भइएला नि।’

पृथ्वीनारायण शाहले गुरु गोरखनाले दिएको प्रसाद (भोमिट गरेको दही) नखाएको इतिहास छ। खनालले सोही इतिहासप्रति लक्षित गर्दै ‘पृथ्वीनारायणजस्तो हुनुभएन नि’ भनेका हुन् ।

ठमठम हिडेको देखेपछि खनाललाई श्रीमती रवीलक्ष्मीले ब्यङ्गबाण हानिन्, ‘हजुर त बढो बलियो हुनुहुँदो रहेछ।’ जवाफमा खनालले भने, ‘बलियो छु नि, तिमीलाई आज पो थाह भयो?’ साथमा रहेका सुरक्षाकर्मी र परिवारका सदस्य हाँसे।

पूजा सकेपछि नेपालखबरसँगको कुराकानीका क्रममाः खनालले बैठक नै बैठक भइरहेका बेला फुर्सद मिलाएर पारिवारिक भ्रमणको मेसो मिलाएको बताए। मनकामना, गोरखकाली अवलोकन गरेको बताउँदै उनले शुक्रबार बेलुकी पोखरा बस्ने र शनिबार घान्द्रुक अवलोकन गर्न पुग्ने बताए।

‘साढुभाइको परिवार अमेरिकाबाट नेपाल आएको मौका पारेर देशका पुरातात्विक महत्वका दरबार, मन्दिर र सुन्दर बस्ती घुम्न निस्किएका हौं’ नेपालखबरको प्रश्नको उत्तरमा उनले भने, ‘राष्ट्रपति हुने चर्चा र यो तीथार्टनसँग कुनै सम्बन्ध छैन।’ नेपाल प्रहरी र शसस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच खनालले शक्तिपीढको दर्शन गरेका हुन्।

खनालले माओवादी केन्द्रसँग पार्टी एकता गर्नेबारेको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिए। शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार कामचलाउ भएको टिप्पणी गर्दै उनले वामगठबन्धनको सरकार बनेपछि देउवा सरकारका निर्णयहरु खारेज गर्ने बताए।