काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्‍नु पूर्व नै उनीसँग पहिले चिसिएको सम्बन्ध सुधारका लागि चासो देखाउन थालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिनिधित्व गर्दै विदेशमन्त्री सुषमा स्वराज दुई दिनका लागि नेपाल आउँदैछन्। आगामी माघ १८ गते स्वराज काठमाडौं आउने जानकारी उच्च राजनीतिक श्रोतबाट प्राप्त भएको छ।

माघ ७ गते मोदीले टेलिफोनमार्फत अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा पहिलो विदेश यात्रामा दिल्ली आउन निमन्त्रणा दिने क्रममा त्यसको प्रारम्भिक तयारी स्वरुप स्वराजलाई छिट्टै काठमाडौं पठाउने बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वराजको यात्रा मितिबारे एमाले उच्च नेतृत्वलाई भारतीय दूतावासमार्फत अनौपचारिक जानकारी दिएको पनि श्रोतले बताएको छ। त्यसअनुसार स्वराज दुई दिनका लागि १८ गते आउँदैछन्।

मोदीको निमन्त्रणाको प्रतिउत्तरमा ओलीले भारतीय प्रधानमन्त्रीलाईनै पहिले नेपाल भ्रमण गर्न आग्रह गर्दैै पहिले उनी जान चाहेका तर जान नसकेका जनकपुर, लुम्बिनी र मुक्तिनाथ लगायत तीर्थस्थलमा भ्रमण गराउन आफू आतुर रहेको पनि बताएका थिए।

दुई वर्षअघि संविधान जारी भएपछि मोदी सरकारले नेपालमा पाँच महिनासम्म लगाएको आर्थिक नाकाबन्दी र त्यसको प्रतिक्रियास्वरुप ओलीद्वारा भारतको आलोचनासँगै चीनसँगको बढाएको निकटताका कारण यसपल्टको निर्वाचनपछि उनको विजयलाई लिएर भारतमा बढ्दो आशंकाकै बीच मोदीले नयाँ सरकार गठन पूर्व नै यो अस्वाभाविक कूटनीतिक पहल सुरु गरेका छन्। छलफल बाट साभार