टीकाराम नेती / शिवसताक्षी (झापा)
शौचालयमा शौच गर्न नमानेपछि झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ । खुला दिसामुक्त गर्ने उद्देश्यले निर्माण गरिएको शौचालय छाडेर सर्वसाधारणले खुला रूपमै दिसापिसाब गर्न थालेपछि गाउँमा प्रहरी परिचालन गर्नुपरेको नगर प्रमुख चन्द्र शेर्मा बताउँछन् । वर्षांैदेखि खुला चउर, खोलाखोल्सीको किनार र नजिकैको जगंलमा दिसापिसाब गर्दै आएका शिवसताक्षी नगरपालिका–६, ७, ९, १० र ११ मा प्रहरी परिचालन गरिएको खुला दिसामुक्त कार्यक्रमकी सहजकर्ता लीला नेपालले बताइन् ।
बौचालय त निर्माण भयो तर ढोका बन्द गरेर शौच गर्न बस्दा शौच नै नआएको र ओडारमा थुनिएजस्तो लागेको भन्दै उनीहरूले शौच गर्न नमानेका हुन् । स्थानीय सुकमाया देवान भन्छिन्,
‘वर्षौंदेखि बाहिरै दिसापिसाब गर्ने बानी प¥यो । भर्खरै बनाएको पाइखानामा धेरैबेर बस्दा पनि दिसा आएन । बन्द कोठामा थुनिएजस्तै लाग्यो । हतार हतार नजिकैको खोल्सीमा गएर आनन्दले शौच गरे ।’
नगरपालिका र स्थानीय प्रहरीले समेत नसकेपछि शौचालय प्रयोग नगर्नेलाई पा“च सय रुपैया“ जरिवाना गरिने जानकारीसहित विद्यालयले अभिभावकलाई पत्राचार गर्दासमेत स्थानीयले शौचालय प्रयोग गर्न मानेका छैनन् स्थानीयहरूमध्ये केहीले वर्षांैदेखि माइखोलाको किनार सताक्षी खोला र झरना खोलामा बनाइएको नहरको डिल तथा रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा शौच गर्दै आएका छन् । उनीहरू भन्छन्, ‘पहिलादेखि लागेको बानी छोड्न नसकिने रहेछ ।’
‘शौचालय निर्माण भइसक्यो तर शौच गर्न शौचालय गएनन्, खुला रूपमै गरे । हामीले धेरै सझायौं, बुझायौ भएन,’ नगर प्रमुख शर्मा भन्छन्, ‘बाध्य भएर प्रहरी परिचालन गर्नुप¥यो ।’ स्थानीयवासीले शौचालय प्रयोग गर्न नमानेपछि प्रहरी र प्रतिनिधिसँगसँगै गाउँ डुल्दै कारबाही गर्ने चेतावनी दिइरहेका छन् ।
जनप्रतिनिधिलाई मात्र जनताले नटेरेपछि प्रहरी परिचालन गर्नुपरेको शर्माले बताए । नगरपालिकाले शौचालय नभका घरलाई स्थानीय तहले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित गराउँदा पनि स्थानीयमा शौचालय बनाउने र नगरपालिकाको सक्रियतामा बनेका शौचालयमा शौच गर्ने बानी बस्न नसकेको उनी बताउँछन् ।
स्थानीय विराट अध्ययन प्रतिष्ठानले शौचालय प्रयोग गर्न प्रोत्साहन गर्न चारजना सहजकर्ता परिचालन गरेको छ । तर, उनीहरूले समेत स्थानीयवासीलाई सम्झाउन नसकिरहेको उपप्रमुख भोजकुमारी नेपाल बताउँछिन् ।
खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि शिवसताक्षी नगरपालिकामा २ हजार ६ सय घरमा शौचालय थिएन । ‘चालू आर्थिक वर्षमा १५ परिवारले शौचालय निर्माण गरे पनि अझै पनि ११ सय परिवारले शौचालय नै निर्माण गरेका छैनन्,’ सहजकर्ता लीला नेपाल भन्छिन् । उनीहरूमा यतिबेला निर्माण भएका शौचालय कसरी प्रयोग गर्न सिकाउने भन्ने चिन्ता बढेको छ ।नेपालका अनुसार १ सय ५० परिवारभन्दा धेरैले निर्माण भइसकेको शौचालय पनि प्रयोग गरिरहेका छैनन् । नगरपालिका र प्रहरीको सक्रियताले मात्र स्थानीयवासीलाई शौचालय प्रयोग गराउन नसकेपछि नगरपालिकाले विद्यालयलाई समेत सचेतनाका लागि प्रयोग ग¥यो । तर पनि स्थानीयले शौचालय प्रयोग गरेका छैनन् । विद्यालयले शौचालय प्रयोग नगर्ने परिवारलाई पाँच सय जरिवाना गर्ने भन्दै घरघरमा पत्र पठाए पनि स्थानीयवासीको ध्यान शौचालयमा पुग्न सकेको छैन । स्थानीय शुक्र मावि चद्रडाँगीका प्रधानाध्यापक महेशकुमार खड्का पत्र पठाएर ध्यानाकर्षण गराए पनि स्थानीयमा सचेतना नआएको बताउँछन् ।










