काठमाण्डौं, १३ माघ– सात प्रदेशमध्ये ६ वटा प्रदेशमा बहुमत रहेको बामगठबन्धनले भोलि आइतबार आफ्नातर्फका मुख्यमन्त्री र सभामुखको टुंगो लगाउने तयारी गरेको छ ।
प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको भागबण्डा टुंग्याउने छ । प्रदेश २ मा बामगठबन्धनको बहुमत छैन् ।
कार्यदलका सदस्य एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भोलि आइतबार बस्ने कार्यदलको बैठकले प्रदेशको टुंगो लगाउने बताउनुभयो । ‘हामी सकेसम्म आइतबार नै टुंग्याउँछौ । अब यसमै अलमलिरहनु उचित हुँदैन्’ पाण्डेले भन्नुभयो । कार्यदलमा ६ वटामध्ये ४ वटा प्रदेशमा एमाले र २ वटामा माओबादी केन्द्रले मुख्यमन्त्री र एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओबादी केन्द्रले सभामुख तथा माओबादी मुख्यमन्त्री भएको प्रदेशमा एमालेले सभामुख लिने गरी माओबादी केन्द्रबाट प्रस्ताव गरिएको छ । तर, त्यसबारेमा कार्यदलमा कुनै सहमति भईसकेको छैन् । एमाले नेता पाण्डेले विकल्पका बारेमा छलफल भइरहेको बताउनुभयो ।
माओबादीले प्रदेश नम्बर १ र ३ मा मुख्यमन्त्रीको दाबी गरेको छैन् । प्रदेश नम्बर ५ मा यसअघि नै एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भईसकेको छ । त्यसैले प्रदेश ५ मा पनि माओबादीको कुनै दाबी रहेको छैन् ।त्यस अनुसार पोखरेल प्रदेश ५ बाट विजयी भएर त्यहाँको एमाले संसदीय दलको नेतामा विजयी पनि भईसक्नुभएको छ ।
प्रदेश ६ र ७ को मुख्यमन्त्री आफुले पाउनुपर्ने दाबी माओबादीको छ । प्रदेश ६ को ४० सदस्यमध्ये एमाले एक्लैले २० स्थानमा जितेकोले प्रदेश ६ को एमाले कमिटिले मुख्यमन्त्री नछोड्ने निर्णय गरेकोले त्यहाँ के गर्ने भन्ने निर्णय दुबै दलका अध्यक्षको सहमतिमा निर्भर रहने एमालेका एक नेताले बताउनुभयो ।










