नेपाली बजारमा गाडी खरिद गर्ने उपभोक्ताहरु ठगिने गरेको पाइएको छ । गाडी कम्पनीहरुले ग्राहकसँग विभिन्न शीर्षकमा रकम लिएको उजुरीपछि उपभोक्ता हित संरक्षण तथा आपूर्ति ब्यवस्थापन विभागले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ग्राहकहरुबाट विभिन्न शीर्षकमा ५० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएपछि त्यस्ता गाडी कम्पनीमाथि ठगीमा कारबाही अगाडि बढाएको छ । नेपालका अधिकांश गाडी कम्पनीहरुले उपभोक्ता ठगी गरेको विभागको अनुसन्धानमा खुलेको छ ।
नेपालको ठूलो ब्यापारिक कारोबार गर्ने चौधरी ग्रुपले पनि ग्राहक ठगी गरेको पाइएपछि विभागले कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा आवश्यक कारबाहीका लागि फाइल पठाएको छ । सुजुकी गाडीको कारोबार गर्ने चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र महिन्द्रा ब्रान्डको गाडी बिक्री गर्दै आएको अग्नि इन्टरप्राइजेज कम्पनी प्रालिले उपभोक्ता ठगी गरेकाले विभागले कारबाहीका लागि पठाएको छ । आपूर्ति ब्यवस्थापन विभागका प्रवक्ता लक्ष्मण श्रेष्ठले अरुण कन्टिनेन्टल ट्रेडर्सले प्रतिगाडी ९६ हजार विज्ञापन खर्च र ३६ हजार कर्मचारीको तलव भनेर उपभोक्ताबाट असुली गर्दै आएको बताए ।
यसका अलावा गाडी कम्पनीहरुले विज्ञापन खर्च, डेकोरेसन सामान (एसेसरिज) जस्ता अनेक शीर्षक राखेर समेत उपभोक्ताबाट लिने गरेको अनुगमनका क्रममा देखिएको छ । गाडी कम्पनीले नै एसेसरिज (गाडीका लागि आवश्यक सामान) दिने भए पनि चौधरी, अग्नि जस्ता कम्पनीले ग्राहकबाट समेत असुली गरेको पाइएपछि ठगीमा कारबाही अगाडि बढाउनुपरेको प्रवक्ता श्रेष्ठको प्रतिक्रिया छ । श्रेष्ठले भने, ‘सबै गाडी बिक्रेता कम्पनीमा अनुगमन भइरहेको छ ।’ कतिपयको अनुसन्धान प्रक्रियामा छ । अनुसन्धान सकिएका चौधरी र अग्निलाई ठगी गरेको देखिएपछि कारबाही अगाडि बढाउन प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाइसकिएको छ । चौधरी ग्रुपको अरुण कन्टिनेन्टल ट्रेडर्स ललितपुरमा भएकाले ललितपुरमा पठाएको र अग्निको काठमाडौं परिसरमा पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । ‘खरिद मूल्य र बिक्री मूल्यमा धेरै नै फरक देखिएपछि कारबाहीका लागि पठाएका हौं,’ श्रेष्ठले भने, ‘कम्पनीले गाडीसँगै दिने डेकोरेसनको सामग्रीको समेत मूल्य जोडेर ग्राहक ठगी गरिएको छ ।’
विभागको अनुसन्धानका क्रममा डियो अटोमोवाइलले बिक्री गर्दै आएको इको स्पोर्टस ब्रान्डको कारको २२ लाख ५८ हजार २ सय ९२ रुपैयाँ ७६ पैसा लागत मूल्य निकालेको छ । बिक्री गर्दा २८ लाख २३ हजारबाट सुरु गरी ३ लाख ३६ हजार २ सय ८३ रुपैयाँ मूल्य अभिबृद्धिकर(भ्याट) बाहेक डिस्काउन्ट दिई २४ लाख ८६ हजार ७२५ रुपैयाँ बिक्री गरिएको छ । भ्याटबाहेक २४ लाख ८६ हजार ७२५ मा उपभोक्तालाई धमाधम बिक्री गरिरहेको छ । लागत मूल्य २२ लाखबाटै डिस्काउन्ट दिनुपर्ने आपूर्ति ब्यवस्थापन विभागका प्रवक्ता श्रेष्ठले बताए । तर गाडी कम्पनीले ब्रोसरमा ३१ लाख ९९ हजार मूल्य रहेको तर घाटा खाएर बिक्री गरेको भन्दै आएका छन् । गाडी कम्पनीहरुले कुन आधारमा एमआरपी तय गरेका हुृन् ? लागत मूल्य २२ लाख छ, ब्रोसरमा ३१ लाख भनेर विज्ञापन गरिएको छ । यसले नै अन्योल सृजना गरेको छ, श्रेष्ठले भने । शारदा ग्रुपको पायोनियर मोटर्स कम्पनीले गोयस ब्रान्डको कारको मूल्य निर्धारण गर्दा प्रशासनिक खर्च र विज्ञापन खर्च शीर्षकमा १२ हजार र डेकोरेसनको सामानसमेत ७० हजार ७३३ रुपैयाँ जोड्ने गरेको छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनेलाई विभागले नै मुद्दा चलाउँछ । तर अनावश्यक शीर्षकमा ग्राहक ठगी गरेकाले देखिएकाले ठगी मुद्दा चलाउन प्रहरीकोमा पठाइएको बताएका छन् ।
गाडी कम्पनीलाई ठगीमा मुद्दा चलाउन विभागले पठाएको प्रतिवेदनबारेमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीको प्रतिक्रिया छ, ‘परिसरमा गाडी कम्पनीको अनुगमनको रिपोर्ट आएको छ । २०–२५ दिनअघि नै आएको हो । मुद्दा दर्ता भइसकेको छैन । ठगीलाई पुष्टी गर्ने आधार छन् भने मुद्दा दर्ता हुन्छ ।’ रिपोर्ट अध्ययन गर्ने काम भइरहेको छ । विभागले ठगी गरेको प्रंमाणसहित रिपोर्ट प्रहरीलाई पठाएको छ भनिरहेको छ भन्ने प्रश्नमा एसपी जोशीले भने, ‘कसले दिएको हो, उसैलाई सोध्नुस् । अध्ययन भइरहेको छ, अहिले यति जानकारी गराएँ ।’ नयाँपेजबाट










