बिर्तामोड।
व्यवहारिक ज्ञान र शिक्षा आर्जन गर्ने थलो हो विद्यालय । विद्यालयमा विद्यार्थीलाई किताबी शिक्षा दिइन्छ र सँगै व्यवहारिक कुशलता पनि सिकाइन्छ । यसैक्रममा बिर्तामोडमा रहेको बाल्मीकि एजुकेशन फाउण्डेशनमा शिक्षा र ज्ञान दिने उद्देश्यले एकैदिन पाँचवटा विवाह सम्पन्न भएका छन् ।
जातीय परम्परा अनुसार विद्यालय हाताभित्रै फरक–फरक समुदायका विवाह सम्पन्न भयो । गुरुङ समुदायको परम्परा अनुसार पहिलो विवाह भएको थियो । गुरुङ समुदायमा मागी र भागी विवाह गर्ने प्रचलन छ । सोही बमोजिम शिक्षक र समाजका गन्यमान्य व्यक्तित्वहरुको उपस्थितिमा भव्य समारोहकाबीच सोही विद्यालयमा अध्ययनरत् बिद्यार्थी–बिद्यार्थीबीचमा विवाह सम्पन्न भएको छ । लगत्तै मैथिली परम्परा अनुसार दोस्रो विवाह भयो । त्यसपछि नेवारी संस्कृति र परम्परा अनुसार बेल विवाह सम्पन्न भयो ।
त्यस्तै तामाङ समुदायको परम्परा अनुसार विवाह सम्पन्न भयो र अन्तिममा लिम्बू रीतिरिवाज र संस्कृति अनुसार विवाह सम्पन्न भयो । मैथिली समुदायको विवाह हुनुअघि राजवंशी समुदायको सिरुवा पावनी मनाइएको थियो । गुरुङको विवाह लगत्तै मगर समुदायको नृत्य प्रस्तुत गरिएको थियो । परम्परागत शैलीमा सम्पन्न भएको विवाह हेर्दा लाग्थ्यो बाल्मीकिमा साँच्चै नै विवाहका कार्यक्रम सम्पन्न भइरहेका छन् । तर, त्यसो नभएर गत बर्षदेखि बाल्मीकि एजुकेशन फाउण्डेशनले मनाउँदै आएको बाल्मीकि सामाजिक दिवसमा विद्यार्थीले प्रस्तुत गरेको सामाजिक र सांस्कृतिक परिदृष्य थिए ती सबै ।
जातीय भेषभुषामा सजिएका विद्यार्थीले आ–आफ्नो समुदायले मनाउँदै आएका रीतिरिवाज, धर्म, संस्कृति र चाल चलनलाई जस्ताकोतस्तै प्रस्तुत गरेका थिए । मैथिली समुदायको विवाहपछि मैथिली भाषाकै नृत्य प्रस्तुत गरिएको थियो । नेवारी संस्कृतिको बेल विवाहपछि नेवारी नृत्य र लाखे नाच प्रस्तुत गरिएको थियो । तामाङ समुदायको विवाहपछि तामाङ सेलो देखाइएको थियो । खस, आर्य समुदाय (ब्राम्हण संस्कृति)को पहिचान झल्कने गरी विद्यार्थीले तीज मनाएका थिए । जातीय पहिरनसहित उनीहरुले तीज नृत्य समेत प्रस्तुत गरेका थिए । लिम्बू संस्कृतिमा आधारित विवाह सम्पन्नपछि च्याब्रुङ नाच प्रस्तुत गरेका थिए भने राई समुदायको संस्कृतिभित्र पर्ने नृत्य समेत देखाइएको थियो ।
सो अवसरमा थान थापेर विजुवाले पूजा–आजा गरिसकेपछि परम्परा अनुसार मनाइँदै आएको नृत्य देखाइएको थियो । सोही समारोहकाबीच असीम दाहालको लेखन तथा निर्देशन रहेको नाट्क प्रदर्शन गरिएको थियो । चेलिबेटी बेचबिखन र महिला हिंसा सम्बन्धी चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । विद्यालयले आयोजना गरेको कार्यक्रममा यसअघि खस, आर्य, तामाङ, मैथिली, नेवारी, राई, राजवंशी, मगर, गुरुङ, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक र खाद्य परिकारको जानकारीसहित विद्यार्थीले तयार पारेको स्टलको कार्यक्रमका अतिथिले अवलोकन गरेका थिए । जातीय पहिचान झल्कने गरी बनाइएका स्टल र भेषभुषाका कारण बाल्मीकिको प्राङ्गण शुक्रवार झकीझकाउ थियो ।
कार्यक्रमका अतिथि, समाजसेवी राजकुमार पोखरेलले सांस्कृतिक विविधता हाम्रो पहिचान भन्ने मूल नारासहित विद्यालयले आयोजना गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताएका थिए । नेपाल आशन र भाषणले बिग्रिएको चर्चा गर्दै पोखरेलले सांस्कृतिक विविधता नेपालीहरुको पहिचान भएको बताए । विद्यालयमा विद्यार्थीलाई शिक्षा मात्र होइन, ज्ञान पनि प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ आयोजना गरेको कार्यक्रमले विद्यार्थीलाई जीवन जिउने कला सिकाउने धारणा राखेका थिए । सो कार्यक्रमले नेपाली–नेपालीबीचको सहिष्णुता कायम राख्न मद्दत पु¥याउने र आपसी बन्धुत्वको भावना विकास गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पोखरेलले बताए ।
यता फाउण्डेशनका संस्थापक गोपालकुमार बस्नेतले भाषा, जाति, संस्कृति र धर्मको विविधा भएको हाम्रो देशको अर्को परिचय सहिष्णुता भएको उल्लेख गर्दै कार्यक्रमले एकअर्काको संस्कृतिको सम्मान गर्न सिकाउने बताए । हाम्रो देश संस्कृति र परम्परा भाषा र भुषाका कारण समृद्ध छ, विविधता छ तर तिनका नाममा द्वन्द्व नभएको उदाहरण पनि छ । नेपालीबीचको सद्भावना र एकतालाई विग्रह गर्न खोज्नेहरु आफै असफल भएको उल्लेख गर्दै बस्नेतले हाम्रो एकता अटुट रहोस्, एकअर्काप्रति सम्मान गर्ने संस्कारको विकास होस् भनेर सामाजिक दिवसको आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागी व्यवसायी दीपेन्द्रकुमार पोखरेलले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानको अलावा जीवन जिउने कलासहित धर्म संस्कृति, रीतिरिवाज र परम्परा समेत सिकाएर महत्वपूर्ण कार्य गरेको बताएका थिए । प्रिन्सिपल आनन्दकुमार बस्नेतले विद्यार्थीकाबीच एकअर्काको भेषभुषा, भाषा र संस्कृतिसँग परिचित गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।
शिक्षक भीमनारायण सञ्जेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा माल्भिका लक्सम्बाले राष्ट्र गानको महत्वको बारेमा प्रकाश पारेको सहायक प्रिन्सिपल विष्णु सिंहलले जानकारी दिए । कार्यक्रमको सञ्चालन लोकराज अधिकारीले गरेका थिए ।










