काठमाडौं– २०७१ माघ २१ गते बिहानको ११ बजेको थियो। मध्य बानेश्वरस्थित ह्वाइट हाउस कलेजको भवनमा रहेको ग्लोबल आइएमई बैंकको शाखाबाट पैसा निकालेर चितवनकी सरस्वती आचार्य सिनामंगलस्थित आफ्नो मनी ट्रान्सफर जान तयारीमा थिइन्। बैंकबाट १८ लाख ८५ हजार रुपैयाँ निकालेर स्कुटरको डिकीमा पैसा राख्न खोज्दै थिइन्। मोटरसाइकलमा सवार दुई व्यक्तिले उनको झोला थुतेर टाप कसे। कराउँदा कराउँदै लुटेराहरु बेपत्ता भए।
राजधानीको मुख्य भागमा त्यति धेरै रकम लुटपाट गरेर अभियुक्तहरु सजिलै भाग्न सफल भएका थिए। प्रहरीको लागि ठूलै टाउको दुखाइको विषय भयो। किनकि हप्तौं अनुसन्धान गर्दा पनि सो घटनाबारे प्रहरीले केही पत्ता लगाउन सकेन। दुई वर्षको मिहिनेतपछि २०७३ पुस २५ गते प्रहरीले सो लुटपाटका नाइकेलाई पक्राउ गर्न सफल भयो। ती व्यक्ति थिए, टीकाबहादुर थापा मगर ‘टीके डाँका’।
गत हप्ता डिल्लीबजार जेलबाट भागेका उनी शनिबार प्रहरी इन्काउन्टरमा चितवनको रामनगरमा प्रहरीसँगको मुठभेडमा घाइते भएका छन्।
२ सयभन्दा धेरै मोटरसाइकल चोरी
चोरी, लुटपाट र डकैतीका घटना उनी ‘डन’ नै साबित भएका थिए। ‘मोस्ट वान्टेड’ रहेकै अवस्थामा उनले एकपछि अर्को लुटपाट र डकैती मच्चाएका थिए।
प्रहरीले 'टीके डाँका’ उपनाम दिएका उनी विगत १२ वर्षदेखि अपराधमा सक्रिय व्यक्ति हुन्। २०६४ सालमा पहिलो पटक पक्राउ परेका उनी केही महिनामै छुट्ने र फेरि अपराधमा संलग्न हुन्थे। अपराध महाशाखाका एक अधिकारीका अनुसार, उनले काठमाडौंमा मात्र २ सयभन्दा धेरै मोटरसाइकल चोरी गरेका छन्।
उनको मोटरसाइकल चोरीको नेटवर्क चितवनमा थियो। त्यसकारण गत साता जेलबाट भागेलगत्तै उनी पुराना साथीहरु खोज्दै चितवन पुगेका थिए। प्रहरीको गोली लागेर ढलेका उनको मृत्यु भएको प्रहरी अनुमान थियो, तर अस्पताल लैजाँदा जीवित नै थिए।
२०७१ असारमा चोरी मुद्दामा पक्राउ परेका उनी २६ लाख नगद नै धरौटी राखेर छुटेका थिए। यसले पनि उनले अपराधबाट कति धेरै पैसा कमाएका छन् भन्ने प्रस्ट हुन्छ।
पछिल्लो समय उनले बैंकबाट पैसा निकाल्ने व्यक्तिहरु लुट्नका लागि निगरानी गर्न थालेका थिए। दुई वर्षअघि भक्तपुरको कौशलटारस्थित एनआइसी एसिया बैंकबाट पैसा निकालेर निस्किए लगत्तै मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए। सोही घटनाको अनुसन्धान गर्ने क्रममा उनी प्रहरी जालमा परेका थिए।
त्यस्तै, महिलाहरुको सिक्री लुटपाटका घटनामा पनि उनी विरुद्ध मुद्दा दायर भएको थियो।
मोटरसाइकलपछि गाडी चोरी
राजधानीमा कुनै मोटरसाइकल चोरी भयो कि प्रहरीले 'टीके'कै खोजी सुरु गर्थ्यो। मोटरसाइकल चोरीमा उनी पटक-पटक पक्राउ परे। पछि उनले गाडी नै चोरी गर्न थालेका थिए।
२०७२ जेठमा उनले गाडी चोरीको आतंक सुरु गरेका थिए। जेठमा उनले बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पार्किङ गरी राखेको बोलेरो गाडी चोरी गरेका थिए।
गत हप्ता जेलबाट भागे लगत्तै उनले कतै अर्को डकैती गर्न सक्ने चिन्ता प्रहरीमा थपिएको थियो।
‘यस्ता अपराधीलाई गोली हान्नुको विकल्प थिएन’, महाशाखाका एक अधिकारीले भने। नेपाललाइभ बाट










