चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कामचलाउ सरकारका पछिल्ला निर्णयले स्वयम कांग्रेसलाई नै असर गर्ने बताएका छन्।
माओवादी निकट शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न चितवन पुगेका अध्यक्ष दाहालले प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा कामचलाउ सरकारले दीर्घकालीन असर पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने उल्लेख गरे।
अध्यक्ष दाहालले सरकारका पछिल्ला गतिविधिबारे एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्ने योजना रहे पनि समय नमिलेको भन्दै एमालेले बिहीबार गरेको पत्रकार सम्मेलनमा आफ्नो सहमति रहेको समेत बताए।
‘जनमत प्राप्त सरकारले गर्नुपर्ने काम अहिले कामचलाउ सरकारले गरिरहेको छ', दाहालले भने ‘अहिलेको सरकारले दूरगामी असर पार्ने खालको निर्णय गर्न मिल्दैन।
निर्वाचनपछि स्पष्ट जनमत आएको उल्लेख गर्दै दाहालले गम्भीर प्रकारको निर्णय नयाँ बन्ने सरकारले गनुपर्ने उल्लेख गरे।
सरकारले लोकप्रिय हुन पछिल्ला निर्णय गरेको भन्दै दाहालले थपे, 'देशको अर्थतन्त्रलाई धरासायी बनाउने कामचलाउ सरकारको निर्णयले कांग्रेसलाई समेत असर गर्छ।’
वृद्ध भर्ता पाउने उमेर ६५ वर्षमा झार्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पछिल्लो निर्णयको चर्को आलोचना भएको छ।
‘भावी प्रधानमन्त्री’को रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले कामचलाउ सरकारले गरेका महत्वपूर्ण निर्णय र नियुक्तिमा नयाँ सरकार गठन भएपछि पुनर्विचार हुने बताइसकेका छन्।










