काठमाडौँ, १५ माघ- प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो ।
यसअघि अनुसन्धान नटुंगिएकाले प्रहरीकै अनुरोधमा माघ ६ को निर्धारित परीक्षा रद्द गरिएको थियो ।
नेपालमा ब्रिटिस काउन्सिल र इन्टरनेसनल डेभलपमेन्ट प्रोगाम (आईडीपी) ले आईएलटीएस परीक्षा लिने जिम्मेवारी पाएका छन् । संसारभर एउटै प्रश्नपत्र हुने आईएलटीएसको उक्त दिन भएको परीक्षाको प्रश्नपत्र योजनाबद्ध रूपमा चुहाइएको निष्कर्ष प्रहरीको छ । ५ माघमा प्रहरीले ब्रिटिस काउन्सिलबाट उक्त दिनको प्रश्नपत्र मगाएर बाहिरिएको उत्तरसँग दाँजेर हेरेको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंका मुद्दा शाखाका डीएसपी बेलबहादुर पाण्डेका अनुसार अनुसन्धानमा राइटिङ सेटका दुवै प्रश्न र लिसनिङ सेटका सबै प्रश्न र उत्तर बाहिरिएको देखिएको खबर कान्तिपुरमा छापिएको छ ।










