मधेस केन्द्रित दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ मा सरकार बनाउन छलफललाई तीव्रता दिइसकेका छन् । प्रदेश २ मा माघ २१ गते प्रदेश अधिवेशन आह्वान गरिसकेको छ ।
प्रदेश अधिवेशन बसेलगत्तै प्रमुख दलहरूले संसदीय दलको बैठक बोलाएर नेता छान्नुपर्ने हुन्छ । प्रदेश २ मा फोरमको नेतृत्वमा सरकार बन्ने निश्चित छ । राजपाले उपमुख्यमन्त्री, सभामुखसहित महत्वपूर्ण मन्त्रालय लिने सहमति भएको बुझिएको छ ।
फोरमबाट कोषाध्यक्ष विजय यादव मुख्यमन्त्री बन्ने लगभग निश्चित रहेको स्रोतले बतायो । तर अहिले नै यसबारे कुनै निर्णय भने भइसकेको छैन । फोरमबाट शैलेन्द्र साह र लालबाबु राउत पनि मुख्यमन्त्रीका प्रबल दाबेदार मानिन्छन् ।
तर, जातीय हिसाबले पनि यादव समुदायकै बहुमत भएकाले प्रदेश २ मा सोही समुदायका मुख्यमन्त्री बन्न बताइएको छ । फोरम कोषाध्यक्षसमेत रहेका यादवले आफू नै मुख्यमन्त्री हुने कुरा निश्चित रहेको निकटस्थहरूलाई बताउने गरेका छन् ।
यसैगरी, राजपा महामन्त्री जितेन्द्र सोनल सभामुख बन्ने आन्तरिक सहमति भएको छ । राजपा अध्यक्ष महन्थ ठाकुरले सोनलको नाम प्रस्ताव गरेका छन् । सभामुखका लागि मनिष सुमन र रामनरेश रायले इच्छा देखाएका छन् । उनीहरूको पक्षमा राजकिशोर यादव र महेन्द्र राय यादवले लबिङ गरिरहेको बुझिएको छ । उपसभामुख भने फोरमकी उपमा देव बन्ने सम्भावना बढी छ ।










