काठमाडौँ । रामेछापको दोरम्बा–२ ढोईगाउँमा जन्मे हुर्केका टीका थापामगर एसएलसी दिएपछि काठमाडौं छिरेका थिए । पढाईमा खासै रुचि नराख्ने थापामगर पछि नेपाल प्रहरीलाई नै चक्मा दिनेगरी ‘लुटपाट’ अपराधको दुनियाँमा रमाउन थालेका थिए ।

काठमाडौँको चोरी र लुटपाटमा एकै खालका प्रविधि अपनाएर लुट्दै आएका थापामगर पछिल्लो समय प्रहरीको टाउको दुःखाईको ‘चोर’ बन्न पुगे । फलस्वरुप प्रहरीले उनलाई ‘टीके डाँका’को उपनाम दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिवार चितवनको रामनगरमा प्रहरीको गोली लागेर ढलेपछि नेपाली सञ्चार माध्यममा एकाएक उनीबारेको समाचार भाइरल भयो, ‘सदरखोरबाट भागेका टीके डाका प्रहरी इन्काउन्टरमा मारिए ।’ तर, रियालिटी त्यस्तो थिएन्, दायाँ तिघ्रा र हातमा चोट लागेका टीकेको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । प्रहरीबाट चुहिएको गलत सूचनाको परिणाम नेपाल सञ्चार माध्यम चुकेका थिए । माघ ४ गते मध्यराती डिल्लीबजारस्थित सदरखोरबाट भागेका थापा मगर र प्रहरीबीच शनिवार चितवनको रामनगरमा दोहोरो मुठभेड भएको थियो । तीन गोली प्रहार गरेर नियन्त्रणमा लिएसँगै प्रहरीले उनलाई जेल प्रशासनको जिम्मा लगाएको छ ।

डिल्लीबजारस्थित सदरखोरबाट भाग्न सफल टीकेले यसभन्दा पहिले पनि पटक–पटक प्रहरीलाई चक्मा दिँदै आएका थिए ।

एकपटक महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बौद्धमा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई उनकै सहयोगमा लुटपाटमा संलग्न अर्को मान्छेलाई त्यसै दिन समात्नु थियो । टीकेले प्रहरीको आग्रह बमोजिम अर्को लुटेरलाई फोन गरेर जोरपाटी पुलमा बोलाए, प्रहरीले उनको पिछा गरिरहेको थियो । हत्कडी लगाउँदा अर्को लुटेरा भाग्न सक्ने हुनाले प्रहरी साइडमा रेकी गर्दै हिँडेको थियो । टीके प्रहरी निगरानीमा जोरपाटीको पुल पुगे, अर्को लुटेरा मोटरसाइकलमा आए । आधा दर्जन प्रहरीको आँखा छलेर टीकेले ‘साथी लुटेरा’को बाइकमा जम्प गर्दैै भने, ‘भागौँ, पुलिसले पछ्याइरहेको छ ।’ छिनभरमै टीके भाग्न सफल भए, प्रहरी रित्तो हात फर्कन बाध्य भयो ।

मोटरसाइकल चोरीबाट अपराधको दुनियाँमा रमाउन थालेका टीकेको अर्को उपनाम हो, ‘मोटरसाइकल किङ ।’ मोटरसाइकललाई जहाँबाट जसरी पनी हुँइक्याउन पारङ्गत टीके र उनको समूहसँग प्रहरी हैरान भैसकेको छ ।

२०७३ पुसमा मन्दिरा अधिकारी कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै थिइन् । टीकेले चलाएको मोटरसाईकल पछाडी बसेको उनका सहयोगीले मन्दिराको झोलामा रहेको ६ लाख लुटेर भागे ।

मन्दिराको लाखौं लुटेर भागेको केही दिनमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी र टीकेबीच काठमाडौंको दक्षिणढोकामा जम्काभेट भयो । कुरा पुस २६ गतेको हो, प्रहरीलाई देख्नासाथ टीके भागिहाले । प्रहरीले घेरा हालेर समाउँदा उनको निधारमा चोट लाग्यो, चितवनमा गोली प्रहार हुनुअघि प्रकाशित उनको तस्बिरमा निधारमा चोट देखिन्छ ।

श्रीमतीलाई विदेश पठाए, शिक्षकलाई मोटरसाइकल सिकाए

२०६५–६६ तिर रामेछापमा न्यु ब्राण्ड पल्सर मोटरसाइकल २५ हजारमा सजिलै पाइन्थ्यो । त्यसको कारक थिए, ‘टीके’ । टीकेले काठमाडौंबाट चोरेर लगेको न्यु ब्राण्ड मोटरसाईकल उनैलाई कखरा सिकाउने शिक्षहरुले समेत किने । एक महिनाको तलब खर्चेर किनेको मोटरसाईकल सिकेर शिक्षक देखि गाउँका युवाहरु दोरम्बा र टोकरपुर तिरको धुले बाटोमा मोटरसाइकल हुँइक्याउन सिपालु भए । हरेक पटक गाउँमा जाँदा नयाँ मोटरसाइकल लिएर जान्थे, टीके । नयाँ मोटरसाईकल घरमै छाडेर काठमाडौं फर्किन्थे ।

मोटरसाइकल चोर्ने धन्दा चलाउँदा चलाउँदै उनले टोकरपुरकी एक युवतीसँग प्रेम सम्बन्ध गाँसे । काठमाडौँबस्ने, गाउँमा जाँदा सँधै मोटरसाइकल लिएर जाने टीकेसँग ती युवती विवाह गर्न राजि भइन्, १५ वर्षकी कलिली युवती विवाह गरेर उनी काठमाडौँ आए ।

पछिल्लो सयम प्रहरी सक्रियतापछि उनको मोटरसाईकल चोर्ने र बेच्ने धन्दा बन्द भयो । त्यसपछि टीके बैंकबाट रकम झिकेर फर्कनेहरुको नगद लुटपाट र गाडी चोरी गर्न लागे । पटक–पटक प्रहरी फन्दामा पर्न थालेपछि श्रीमतीले बल्ल टीकेको असली रुपबारे थाहा पाईन् । श्रीमतीले पटक–पटक लुटपाट धन्दा छाड्न आग्रह गर्दा पनि टीकेले नछाडेपछि अहिले उनकी श्रीमती वैदेशिक रोजगारीको लागी दुबई गएको पारिवारीक स्रोतको भनाई छ । टीके निकट एक युवाका अनुसार श्रीमती विदेश लागेपछि टीकेले छोरालाई बौद्धस्थित एक स्कूलमा बोर्डस गरिदिएका छन् ।

लुटपाट गरेर लाखौँ कमाएपनी पक्राउ परेपछि धरौटी तिर्दा तिर्दा हत्तु भैसकेका टीका थापामगर अहिले प्रहरीको घेरामा काठमाडौँको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । ट्रमा सेन्टमार उनलाई भेट्न उनका आफन्त र नातेदार कोही गएका छैनन् । उनको उपचार खर्चसमेत प्रहरीले नै गरिरहेको छ । आइतबार ट्रमा सेन्टरको गेटमा भेटिएका दोरम्बाका एक युवा गेटबाटै फर्किए । उनी भन्दै थिए, ‘टीकेलाई देखेपछि माया लाग्छ, तर के गर्नु राम्रो पेशा अपनाएको भए पो भेटेर सान्त्वना दिनु, होस् नभेटी फर्किन्छु ।’    रातो पाटि बाट