एमालेले मुख्यमन्त्री र प्रदेश सभामुखका लागि आफ्ना उम्मेद्वार तय गर्न  मंगलबार बिहान १० बजे पार्टी स्थायी समितिको बैठक बोलाएको छ ।

स्थायी समितिले सकेसम्म सर्वसम्वत रुपमा मुख्यमन्त्रीका उम्मेदवार चयन गर्ने तर सर्वसम्मत नभएमा निर्वाचनका लागि बाटो खोल्ने निर्णय लिने बताइएको छ । मुख्यमन्त्री बन्न चाहने पहिला संसदीय दलको नेता निर्वाचित हुनुपर्ने भएकाले यसमा दाबी प्रस्तुत गर्नेको योग्यता÷क्षमता महत्वपूर्ण हुन्छ । वाम गठबन्धनबीचको बाँडफाँडमा ७ प्रदेशमध्ये एमालेले चार प्रदेशमा मुख्यमन्त्री पाएको छ । एक्लै बहुमत भएको प्रदेश नं ६ मा पनि पार्टी एकतालाई बल पुर्याउन एमालेले माओवादीलाई मुख्यमन्त्री छोडेको हो ।  ‘पार्टीले एउटा विधि बनाउँछ र त्यसमा टेकेर प्रदेश कमिटीले निर्णय गर्छ’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने ।

सुवास नेम्बाङ नेतृत्वको वाम कार्यदलले एमालेलाई चार मुख्यमन्त्री र माओवादीलाई दुई मुख्यमन्त्री बाँडफाँड गर्ने निर्णय गरेको थियो । माओवादी केन्दले प्रदेश न. ६ र ७ मा मुख्यमन्त्री पाएको छ भने एमालेले १, ३, ४ र ५ मा मुख्यमन्त्री पाएको छ । त्यस्तै  प्रदेश सभामुखमा पनि सोही अनुपातमा सहमति गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेको तर्फबाट प्रदेश न. ५ को मुख्यमन्त्री एमाले स्थायी समिति सदस्य शंकर पोखरेल हुने तय भइसकेको छ । पोखरेल उक्त प्रदेशको संसदीय दलको नेता बनिसकेका छन् । त्यसबाहेक प्रदेश १ मा पोलिटब्यूरो सदस्य शेरधन राई मुख्यमन्त्रीको प्रतिस्पर्धामा अग्रपंक्तिमा छन् । पार्टी सचिव भीम आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरेले पनि दाबी प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आचार्यको जिल्ला सुनसरीबाटै एमालेले अपेक्षित परिणाम हात पार्न नसकेको र उम्मेद्वार चयनमा समेत विवाद आएका कारण उनले पाउने सम्भावना कम छ । स्थायी समितिले मुख्यमन्त्रीमा दाबी गर्नेको मापदण्ड तय गरेपछि त्यसभित्र रहेर संसदीय दलको नेता निर्वाचत हुने मुख्यमन्त्री बन्न सक्ने निर्णय गर्दैछ । प्रदेश १ मा जनजाति समुदायको समेत प्रतिनिधित्व हुने र विगतमा पनि महत्वपूर्ण जिम्मेवारीमा रहेकाले राई मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिन्छ ।

त्यस्तै प्रदेश ३ मा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेले दावी प्रस्तुत गरेका छन् । एमालेले पाउने चार वटा मुख्यमन्त्री मध्ये एक जना महिला हुनुपर्छ भन्ने अडान बलियो भएमा शाक्य मुख्यमन्त्री बन्ने सम्भावना बढी छ ।

प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा छ । प्रदेशसभाको रसायन हेर्दा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना छ । प्रदेश २ मा फोरम र राजपा मध्येबाट मुख्यमन्त्री बन्ने सम्भावना छ भने ६ र ७ मा माओवादीले पनि मंगलबार नै आफ्ना उम्मेद्वार टुँगो लगाउँदैछ ।