धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताएका छन्।
कैलालीको भजनीमा आजदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको ‘भजनी महोत्सव’को उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “पार्टी एकताका लागि विभिन्न कार्यदल बनाएर काम अगाडि बढाएका छौँ।”
अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक बहुमतको, स्थायी र बलियो सरकार बनाउने सम्भावना भएको बताए। उनले महोत्सव आयोजकका तर्फबाट पेश गरिएको भजनी क्षेत्रको विकाससम्बन्धी माग पूरा गराउन पहल गरिने आश्वासन दिए।
भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीले पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति, कान्द्रा, काँडा र मोहना नदी नियन्त्रण, कृषि परियोजना कार्यक्रम लागु, भजनी क्षेत्रका तालतलैयाको व्यवस्थापन, रंगशाला र उद्यान निर्माण, बाढीपीडितको समस्या समाधानलगायत १५ बुँदे मागपत्र सो अवसरमा अध्यक्ष दाहालसमक्ष पेश गरेका छन्। यही माघ २४ सम्म चल्ने महोत्सवमा कृषि, व्यापार व्यवसायसम्बन्धी ७७ कक्ष छन् । रासस










