काठमाडौं- आफ्नो भागमा परेको मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाउन एमाले स्थायी समिति बैठक बस्दैछ। बैठकले पार्टीको भागमा परेका प्रदेशसभाको पदको टुंगो लगाउनेछ।
वाम गठबन्धनको साझेदारीअनुसार १, ३, ४, ५ प्रदेशका मुख्यमन्त्री एमालेको भागमा परेको छ। राष्ट्रियसभा निर्वाचनअघि ६ वटै प्रदेशमा मुख्यमन्त्री र सभामुख टुंगो लगाउने तयारीमा वाम गठबन्धन छ।
मुख्यमन्त्रीका लागि धेरै आकांक्षी भएपछि त्यसको निर्णय गर्न एमालेले स्थायी समिति बैठक डाकेको हो। सर्वसम्मत रुपमा नभए प्रदेश कमिटीले चुनाव गराएर मुख्यमन्त्रीको अनुहार छान्ने उसको तयारी छ। प्रदेश १ मा शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीका लागि दौडधूप गरिरहेका छन्। राईको सम्भावना भए पनि आचार्यले दाबी छाडेका छैनन्।
प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पूर्व मौखिक सहमति भए पनि पछिल्लो समय राजेन्द्र पाण्डे लबिङमा छन्।
प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ।
प्रदेशमा ५ मा शंकर पोखरेल मात्रै मुख्यमन्त्रीको सूचीमा छन्। पोखरेल यसअघि नै प्रदेशको एमाले संसदीय दलको नेता चयन भइसकेका छन्।
माओवादीसँगको सहमति अनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुखको नामसमेत सिफारिस गर्नुपर्नेछ । ४ र ५ मा एमालेको भागमा उपसभामुख समेत परेको छ।










