नेकपा एमालेसंग प्रदेशको मुख्यमन्त्री र सभामुख पदको भागबण्डामा सहमति भएपछि माओवादीभित्र मुख्यमन्त्री र सभामुखका आकांक्षीले लबिङ तीव्र बनाएका छन् ।
माओवादीले प्रदेश नम्बर ४ र ५ को सभामुख तथा प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने गरी एमालेसँग सहमति गरिसकेको छ ।
प्रदेश नम्बर ६ मा पोलिटव्यूरो सदस्यद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् । जुम्लाका भण्डारी माओवादी निकट बुद्धिजीवि संगठनका अध्यक्ष एवम् पूर्वसांसद् हुन् भने शाही पूर्वमन्त्री हुन् ।
कर्णालीबाट कालिकोटले पटक–पटक अवसर पाएको भन्दै जुम्लालाई मुख्यमन्त्री दिनुपर्ने भन्दै माओवादीभित्र बहस शुरु भएको छ । पहिलो संविधानसभा चुनावमा जुम्लाबाट निर्वाचित सांसद् भण्डारी मुख्यमन्त्री बनाउने नेतृत्वको आश्वासनपछि प्रदेशसभामा चुनाव लड्न राजी भएका थिए ।
‘चाँदीको घेरा’ पुस्तकका लेखकसमेत रहेका भण्डारीले कर्णालीको मुहार फेर्न आफू सक्षम रहेको बताउँदै आएका छन् । पूर्वमन्त्री शाहीले पनि आफू मुख्यमन्त्रीका लागि योग्य रहेको बताउँदै आएका छन् ।
प्रदेश नम्बर ७ को मुख्यमन्त्री पनि माओवादीकै भागमा परेको छ । माओवादीबाट वीरमान चौधरी, झपटबहादुर बोहरा र अक्कलबहादुर रावलको नाम चर्चामा छ । यसमध्ये थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न चौधरीको सम्भावना प्रबल रहेको स्रोतको दाबी छ ।
तर, प्रदेशको राजधानी धनगढीमा राखिएपछि पहाडी क्षेत्रको सन्तुलन मिलाउन मुख्यमन्त्रीमा हेरफेर हुनसक्ने माओवादी स्रोतले बतायो ।
एक/दुइ दिनभित्रै मुख्यमन्त्रीको टुंगो लगाउने माओवादीको तयारी छ ।










