काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले गरेको निर्णयपछि प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले नेता शंकर पोख्रेल बन्ने निश्चित भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा मुख्यमन्त्री, प्रदेशसभा सभामुख र उपसभामुखबारे निर्णय गर्नेगरी बसेको बैठकले मुख्यमन्त्री लगायत छान्ने जिम्मा प्रदेशसभालाई दिने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार अब मुख्यमन्त्री नियुक्तिको लागि सहमति या बहुमतका लागि निर्वाचन हुनेछ। मुख्यमन्त्रीका लागि प्रदेशसभा संसदीय दलको नेता चुनिनुपर्ने निर्णय भएको छ। प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने एमाले स्थायी कमिटीको निर्णय छ।
उक्त निर्णय अनुसार प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता शंकर पोख्रेल निश्चित भएका छन्। उनी यसअघि नै प्रदेश ५ को संसदीय दलको नेतामा सर्वसम्मतले निर्वाचित भइसकेका छन्।
वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गएका एमाले र माओवादीले ६ प्रदेशमा आफ्नो बहुमतको सरकार बनाउने निश्चित भएपछि चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सहमती भएको थियो। उक्त समहमति अनुसार एमालेले प्रदेश १, ३, ४ र ५ तथा माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाउने भएको थियो।










