बागलुङ, १६ माघ – पतिको शहादत भएको भर्खर तीन महिना पुगेको थियो । काखमा १४ महिनाकी अबोध छोरी ‘दिप्ती’ । एक्काइस वर्षमै जीवनसाथी गुमाउँदाको असीम पीडा तर पनि शोकलाई शक्तिमा बदल्ने दरिलो साहस पलायो ३३ वर्षीया दिलमाया रोका ‘दीपा’लाई । त्यसैले अहिले उनलाई प्रदेशसभा सदस्य समेत हुन पाउने अबसर मिल्यो ।

चौध वर्षअघिको त्यो दिन भएको कार्यक्रम फर्केर हेर्दा संघर्षका गाथासंग सम्बन्धित रोकाको प्रस्तुतिले नेतृत्व तहका पदाधिकारीलाई प्रभाबित बनायो, जुनबेला तत्कालीन नेकपा माओवादीको ऐतिहासिक चुनुवाङ बैठक आयोजना हुुनुअघि अखिल नेपाल जनसांस्कृतिक संघले ‘युद्ध मैदानबाट फर्किंदा’ नामक ‘अपेरा’ प्रस्तुत गरिरहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कथाले मागेअनुसार अपेरामा दिलमायाको अभिनय शुरु भयो । पिठ्यूँमा १४ महिनाकी कलिली छोरी, मुक्ति युद्धमा जीवनसाथी गुमाएको भर्खर तीन महिना पुगेको अवस्थामा पनि जोशका साथ उनको जीवन्त अभिनयले बैठकमा सहभागी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराईलगायत सबैलाई भावविह्वल बनायो ।

‘जित्नैपर्छ यो अन्तिम लडाइँ तिमीले लडेर, चुहिएका छानोहरु, टुहुरा यी सन्तानहरु बसेका छन् नयाँ दिन पर्खेर’ पाश्र्वमा गीत बजिरह्यो, नेताहरु भावुकमात्र बनेनन् भक्कानिए पनि ।

विसं २०६१ चैत २५ गते रुकुमको खारा भिडन्तमा रोकाका पति चित्रबहादुर घर्ती ‘चिरण’ले शहादत प्राप्त गरेका थिए । “मुक्तिका लागि सँगै लडाइँमा हिँडेको जीवनसाथी गुमाउँदाको पीडा मसँग थियो”, रोकाले विगत सम्झदै भनिन्, “बैठकमा देखाइएको अपेरा मेरै यथार्थ कथा जस्तो बन्यो ।” चुनुवाङ बैठकमा प्रचण्डलगायतका नेताहरु रोएको विषयले अहिले पनि उत्तिकै चर्चा पाएको छ सशस्त्र संघर्षका योद्धाको क्षतिले निराश बनेको पार्टी र नेतृत्वलाई झकझक्याउने कथा थियो अपेरामा ।

शहीद परिवारको भूमिकामा आफ्नै सत्य घटनालाई अपेरामा प्रस्तुत गर्दा नेताहरु उद्वेलित भएको रोकाको भनाइ छ । “बैठक सकिएपछि अध्यक्षलगायतले मलाई ढाडस दिनुभयो, त्यो मेरा लागि अमूल्य क्षण थियो”, रोकाले भनिन् । आफ्नो अभिनय कलाबाट सबैलाई प्रभावित पार्न सक्ने रोका गीत गाउनुका साथै नाच्ने र र बजाउने पनि गर्थिन् । राजनीतिक जीवनकालमा अधिकांश समय सांस्कृतिक फाँटमै बिताएकी रोकाको यात्राले अहिले भने नयाँ मोड लिएको छ । भर्खरमात्र प्रदेशसभा सदस्यको शपथ लिएकी रोकाको कलायात्रा अब प्रदेशसभाको बैठक तिर डोरिएको छ ।

समानुपातिकतर्फबाट नेकपा (माओवादी केन्द्र) ले रोकालाई प्रदेशसभामा चयन गरेको हो । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा २०४१ सालमा जन्मिएकी रोकाको २०५४ सालदेखिको राजनीतिक यात्रा अहिले एउटा गन्तव्यमा पुगेको छ । सांस्कृतिक फाँट, महिला, विद्यार्थी हुँदै पार्टी संगठनमा पनि क्रियाशील बन्नुभएकी रोकाले पार्टी अध्यक्ष र पार्टीले नबिर्सिएकामा खुशी व्यक्त गर्दै भनिन्, “दुःख, संघर्ष झेल्दै आन्दोलनमा लागियो, परिवारजन गुमाए पनि अहिले आएर पार्टीले सम्मान गरेजस्तो लागेकाले अझ राम्रो गरेर देखाउने सोच छ ।”

विसं २०५६ मा पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँड्नुभएकी रोकासँग प्रतिरोध सांस्कृतिक परिवार, सामाना सांस्कृतिक परिवारलगायतका सांस्कृतिक फाँटमा काम गरेको अनुभव छ । उनी विश्वास सांस्कृतिक परिवारमार्फत धवलागिरि जनजागरण अभियानमा पनि सक्रिय भएकी थिइन् । “सांस्कृतिक फाँटसँगै पार्टीको पनि जिम्मेवार सदस्य भएर हामी हिँड्थ्यौ”, रोकाले बिगत संझदै भनिन्, “कतिपय ठाउँका भिडन्तमा पनि संलग्न भएँ, त्यो संघर्षले हामीलाई उत्साह दिन्थ्यो ।” युद्धकै क्रममा रोकाको २०५८ सालमा आफ्नै गाउँ अर्गलकै चित्रबहादुर घर्ती ‘चिरण’सँग विवाह भएको थियो ।

विवाह भएको तीन वर्षमै जीवनसाथी गुमाएकी रोकाले आन्दोलनकै सिलसिलामा बागलुङको गलकोट नगरपालिका–७ मल्मका कर्ण परियार ‘विद्रोही’सँग विवाह गरिन् । दोस्रो विवाहपछि रोकाका नौ वर्षीय छोरा दिप्शन र सात वर्षीया छोरी स्नेहा छन् । परियार पनि नेकपा माओवादीको सांस्कृतिक फाँटमै क्रियाशील कलाकार हुन् । सामाना परिवारको केन्द्रीय कलाकार परियारले पनि चुनुवाङ बैठकमा वाद्यवादक र गायकको भूमिका निर्बाह गरेका थिए । सांस्कृतिक आन्दोलनकै क्रममा उनीहरूबीच २०६४ चैतमा पुनः विवाह भएको थियो ।

कक्षा ५ मै विद्यालय छाडेर आन्दोलनमा लागेकी रोकाले २०६७ मा एसएलसी र त्यसपछि व्यवस्थापन विषयमा कक्षा १२ सम्म पढिन् । “हामी पहिले पनि श्रमजीवी वर्गको हितका लागि आन्दोलनमा लागेका हौँ”, रोकाले भने, “मसँगै अर्को कुनै स्वार्थ छैन, सबै चिज जीवनमा भोगियो, बाँकी समय शहीद, घाइते, अपाङ्ग र श्रमजीवी वर्गको हितमा लगाउँछु ।” उनले प्रदेशसभा सदस्यको भूमिकामा रहँदासम्म देश र नागरिकप्रति जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अपेरा ‘युद्ध मैदानबाट फर्किंदा’ का प्रमुख कलाकार एवं पूर्व सासंद खुशीराम पाख्रिनको गत मंसिरमा गीत गाउँदागाउँदै निधन भएको थियो । कला क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई पनि पार्टीले अवसर दिएकामा कतिपयले खुशी व्यक्त गरेका छन् । रोकाले आफूलाई प्रदेशसभा सदस्यमा सिफारिस गर्ने जिल्ला पाटीप्रति खुशी व्यक्त गर्दै चित्त बुझ्दो काम गरेर देखाउने प्रण गरिन् ।