आज माघ शुक्ल पूर्णिमाका दिन बेलुका खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

चन्द्रग्रहण बेलुका ५ बजेर ५५ मिनेटमा उदाउने र साँझ ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुईपटक पूर्णचन्द्र देखिने (ब्लु मुन)को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् । भट्टराईका अनुसार खग्रास चन्द्रग्रहण बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घन्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म लाग्ने छ र त्यसपछि खन्डग्रास हुँदै चन्द्रग्रहण सकिने छ ।

चन्द्रग्रहण अफ्रिकाका केही देशहरुबाहेक विश्वभका सबै जसो स्थानबाट देख्नसकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि सहजै हेर्न सकिने छ ।